२०८१, २३ भाद्र आईतवार

सल्यान जिल्ला अस्पतालमा अत्यावश्यक औषधीको अभाव

सल्यान । सल्यान जिल्ला अस्पतालमा अत्यावश्यक औषधीको अभाव देखिएको छ । नियमित रुपमा खरिद गर्नु पर्ने औषधी खरिद नहुँदा अस्पतालमा औषधीको अभाव भएको हो ।

अस्पतालमा अत्यावश्यक औषधी नहुँदा श्रीनगर, खलङ्गाबाट ल्याउनु पर्ने बाध्यता रहेको शारदा नगरपालिका २ खलङ्गाका सन्तोष वलीले बताए । उनले बुवाको फोक्सोमा पानी जमेको र जमेको पानी निकाल्न चाहिने सामान अस्पतालमा नभएपछि दाङबाट मगाउनु पर्ने बाध्यता रहेको बताए ।

यस्तै जिल्ला अस्पतालमा निःशुल्क औषधी पाइने बताए पनि किनेर बिरामीलाई खुवाउनु पर्ने बाध्यता रहेको अर्का स्थानीय मना परियारको भनाई छ ।
विशेष गरी आमा सुरक्षा कार्यक्रम अन्तर्गतका औषधीको अभाव देखिएको सल्यान जिल्ला अस्पताल सल्यानका स्टोर प्रमुख रघुवीर कुमार यादवले जानकारी दिए ।
नेपाल सरकारले निःशुल्क रुपमा उपलब्ध गराउने ९८ प्रकारका औषधी मध्य दैनिक प्रयोजनमा आउने आमा सुरक्षा कार्यक्रम अन्तर्गत मेडिसिनहरूको अभाव देखिको उनले भने । स्वास्थ्य निर्देशनालयले पठाएको औषधीको पनि थोरै समयावधि हुँदा झनै समस्या बढेको उनको भनाई छ । निर्देशनालय उपलब्ध गराएका केही औषधीको मिति सकिन एक महिना मात्र छ । एक महिनाभित्र सबै औषधी खपत नहुन सक्छ । जसले गर्दा डिस्पोज गर्नुको अर्को विकल्प हुँदैन यादवको भनाई छ ।

अबको एक हप्तासम्म पुग्ने औषधी स्टक रहेको र केही दिनमा नै औषधीको व्यवस्था गर्न नसके झनै समस्या बिल्झने सल्यान जिल्ला अस्पतालका डा.अर्जुन बुढाले बताए । कार्यालयबाट ३० लाख बराबरको टेन्डर आह्वान भई सूचिकृत भइसकेता पनि कार्यालय प्रमुख र लेखा नहुँदा समस्या भएको उनले बताए । उनले भने ‘अहिले त आमा सुरक्षा कार्यक्रम अन्तर्गतका औषधीको मात्र अभाव भएको छ यदि एक हप्ताभित्र औषधीको व्यवस्थापन नगर्ने हो भने अन्य अत्यावश्यक औषधीको पनि अभाव हुने देखिन्छ ।’ यस्तै ल्याब आवश्यक पर्ने सामाग्रीको पनि अभाव देखिएको उहाँको भनाई छ । ल्याबमा चाहिने सामाग्री पनि एक दुई दिनलाई मात्र पुग्ने रहेका छन् ।

चालु आर्थिक वर्ष सञ्चालन भएको झन्डै दुई महिना पुगी सक्दा समेत सामाजिक विकास मन्त्रालयले त्यसतर्फ ध्यान नदिनु विडम्बनाको विषय भएको ड.  बुढाको भनाई छ ।

पछिल्लो समय बिरामीको चाप बढ्दै जानु र स्टक रहेको औषधी पनि सकिदा औषधीको अभाव सृजना भएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद श्रेष्ठले बताए । औषधी खरिदका लागि टेन्डर समेत भइसकेको छ तर सामाजिक विकास मन्त्रालयले डेढ महिना देखि कार्यालय प्रमुख नपठाउँदा औषधी खरिद प्रक्रियामा ढिलाइ भएको छ उनले बताए । कार्यालय प्रमुख र लेखालाई तत्काल पठाउन सामाजिक विकास मन्त्रालय र मुख्यमन्त्रीको कार्यालयमा पत्राचार गरेको बताउँदै उनले जनतासँग प्रत्यक्ष रुपमा जोडिएको स्वास्थ्य जस्तो संवेदनशील विषयमा मन्त्रालय बढी जिम्मेवार बन्नु पर्ने बताए । -सल्यानखबर