२०८१, २ आश्विन बुधबार

आरम्भ चौतारी लघुवित्तद्धारा रक्तदान कार्यक्रम सम्पन्न

सुर्खेत । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजना र रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतको सहजिकरणमा सुर्खेतमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रगतको अभावमा जोकसैले अकालमा ज्यान गुमाउन नपरोस् र रक्तदान नै जीवनदान हो भन्ने अभिप्रायले शुक्रवार वीरेन्द्रनगरमा खुल्ला रक्तदान कार्यक्रम गरिएको हो ।

समाजसेवी कर्णबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिका रुपमा सामाजिक विकास मन्त्री घण्श्याम भण्डारी थिए । उनले रक्तदान मानवीय कार्य भएकाले यसको महत्व अतुलनीय रहेको बताए । उनले एक थोपा रगतले मानिसको ज्यान बच्न सक्ने भएकाले १८ वर्ष उमेर पुगेका व्यक्तिले रगतदान गनुपर्ने बताउँदै यसको अभावलाई पूरा गर्न सहयोग पुग्ने बताए ।

रक्तदान कार्यक्रममा करिब ५० जना भन्दा बढीले रक्तदान गरेको आरम्भ चौतारी लघु वित्त वित्तीय संस्था कर्णाली प्रदेशका कार्यक्रम अधिकृत सुरेश नेपालीले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी सुर्खेतका सभापति रामलाल आचार्य, आरम्भ चौतारी लघु वित्त वित्तीय संस्था कर्णाली प्रदेशका प्रमुख सन्तोष कुमार चन्द, समाजसेवी चन्द्रबहादुर राना लगायत अन्य व्यक्तिहरुका उपस्थिति रहेको कार्यक्रमको सञ्चालन उद्घाटन कार्यक्रम अधिकृत नेपालीले गरेका थिए ।