२०८१, २६ भाद्र बुधबार

धानमा काडेदार खपटे किराको प्रकोप

क्याप्सनः धानबालीमा किराको प्रकोप देखिएपछि नियन्त्रणका लागि किसानको खेतमा पुगेका प्राबिधिक ।

सल्यान, साउन २३ । शारदा करिडोर आसपासमा रहेका खेतमा धानबालीमा काँडेदार खपटे किराको प्रकोप देखिएको छ । शारदा नगरपालिकाका विभिन्न वडाका श्रीनगर, जोगदेखोला, रेसमज्युला, स्यालपानी, शारदा नगरपालिका र छत्रेस्वरी गाउँपालिकाको सीमानामा पर्ने चैबाङ्गज्युला, छत्रेस्वरी गाउँपालिका ४ दारिमज्युलाका किसानले लगाएको धानबालीमा काँडेदार खपटे किराको प्रकोप देखिएको हो ।

किराको प्रकोपका कारण अहिले ५ सय बढी किसान प्रभावित भएका छन् । गत वर्ष काँडेदार खपटे किराले धानबालीमा ठूलो क्षति पु¥याएकाले यो वर्ष बाली सखाप हुने हो कि भनेर किसानहरु चिन्तित छन् । किसानले किरा नियन्त्रणका लागि सम्बन्धित निकाय समक्ष आग्रह गरेका छन् । शारदा नगरपालिका र छत्रेस्वरी गाउँपालिकाका किसानले सय हेक्टर भन्दा बढी क्षेत्रफलमा लगाएको धानबालीमा काँडेदार खपटे किराको प्रकोप देखिएको कृषि विक ास कार्यालयका नि. प्रमुख यामबहादुर रानाले बताए । दुई पालिकाको धेरै स्थनामा किराको प्रकोप देखिएपनि अहिलेसम्म खासै क्षति भने नभएको उनले जानकारी गराए ।

उनका अनुसार खपटे किराको लार्भाले हरियो भाग खादा धानपातहरु सुक्दै जाने र बयस्क किराले धानको टुप्पा खाएर क्षति पु¥याउने गर्छ । अहिले कतै कतै मात्र धानको पातमा सेतो देखिएको छ । अन्य त्यस्तो समस्या देखिएको छैन । किराको प्रकोप नियन्त्रणका लागि कार्यालयले दुई पालिकाका प्रभावित ४० किसानलाई बिषादी उपलब्ध गराएको छ । किराको प्रकोप महामारीकै रुपमा नफैलिएकाले धान उत्पादनमा खासै असर नपर्ने उनको भनाइ छ । खेतमा लगाएको धानबालीका गत वर्षजस्तै किराको प्रकोप देखिएपछि क्षति पु¥याउन नपाओस् भनेर किरा नियन्त्रणका लागि पालिकाबाट केही किसानलाई विषादी उपलब्ध गराउनुका साथै विभिन्न सल्लाह दिएको शारदा नगरपालिकाका कृषि शाखा प्रमुख प्रकाश खड्काले बताए । काँडेदार खपटे किरा ह्वात्तै नबढेकाले बिषादी छरेमा नियन्त्रणमा आउने उनले जानकारी दिए । छत्र स्वरी गाउँपालिकाका कृषि शाखा प्रमुख गणेश भण्डारीले छत्रेस्वरीको लान्ती, दारिमज्युला र केही स्थानका झन्डै २० हेक्टर जग्गामा लगाएको धानमा किराको प्रकोप देखिएको बताए । काडेदार खपटे किराले हल्का क्षती पु¥याएको उनले बताए । उनका अनुसार किरा नियन्त्रणका लागि पालिकाले ४ सय किसानलाई बिषादी उपलब्ध गराएको छ ।