२०८१, २६ भाद्र बुधबार

तोकिएको समयमा गुणस्तरीय कार्य गर्न निर्माण व्यवसायीलाई मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत:  कर्णालीका मुख्यमन्त्र यामलाल कँडेलले निर्माण व्यवसायीहरूलाई तोकिएको समयमा गुणस्तरीय कार्य गर्न आग्रह गरेका छन् । शुक्रबार वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको पाँचौँ वार्षिक साधारण सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यदि त्यसो गरेमा सरकारले निर्माण व्यवसायीहरूको संरक्षण तथा सम्मान गर्ने बताए ।

मुख्य मन्त्री कँडेलले समयमै गुणस्तरीय कार्य गरे निर्माण व्यवसायीहरूलाई भुक्तानी लिँदा अतिरिक्त रकम तिर्नुपर्ने बाध्यताको अन्त्य गरिने पनि बताए । उनले अबदेखि कर्णालीमा बजेट सुनिश्चित नभएका आयोजनाहरू अगाडि नबढ्ने दावी गरे । चालु आर्थिक वर्षको बजेटमा नयाँ योजना थप्ने भन्दा पनि पुराना योजना सम्पन्न गर्ने गरी सरकार अग्रसर भइरहेको उनले बताए ।

अर्थमन्त्री राजीवविक्रम शाहले अधुरा बहुवर्षीय योजना श्रोत अभावले अलपत्र परेका भए प्रदेश सरकारले पहल गर्ने बताए । उनले भने, ‘‘हाम्रा योजना धेरैजसो पूर्ण रूपमा निर्माण भइसकेका छैनन्, ती अधुरा बहुवर्षीय योजनालाई श्रोत अभावका कारणले कतै अलपत्र परेका छन् भने कर्णाली प्रदेश सरकारले पहल गर्नेछ ।’’

कर्णालीमा संघ र प्रदेश सरकारको मातहतमा रही ठेक्का प्रक्रियाबाट धेरै योजना हरू सञ्चालन मा आइरहेको भन्दै उनले योजनाहरू सही समय मा सम्पन्न नभई राज्यलाई थप व्ययभार बोकाउने कार्य मात्र भइरहेको शाहले बताए ।