२०८१, ३१ भाद्र सोमबार

अनुदानमा आएका ओखरका विरुवामै अनियमितता, विरुवा खरिद दर नै अस्वभाविक : उपाध्यक्ष रेग्मी

सुर्खेत:  सुर्खेतको सिम्ता गाउँपालिका–८ मा सञ्चालित बृहत फलफुल खेती कार्यक्रममा अनियमितता भएको पाइएको छ । उक्त कार्यक्रम अन्तर्गत ओखरका विरुवा खरिदमा सरकारी दररेट भन्दा बढी मुल्य देखाएर अनियमितता गरेको पाइएको हो । आर्थिक वर्ष २०८०÷०८१ को पालिकास्तरीय २० लाख ३८ हजार ११० रुपैयाँ बजेटबाट विरुवा खरिद गरिएको गाउँपालिका इन्जिनियर शैलेन्द्रदेव गिरीले जानकारी दिनुभयो । जुम्लाको पातारासी गाउँपालिका–३ मा संचालित एन्जल फलफुल नर्सरी उत्पादन केन्द्रबाट ७२५ रुपियाँका दरले एक हजार २३५ ओखरका विरुवा कृषि शाखाले खरिद गरी उपभोक्ता समितिले किसानलाई वितरण गरेको गिरीले बताउनुभयो । तर विरुवा खरिदको दररेट नै अस्वभाविक देखिन्छ । सिजनमा ३०० देखि ३५० सम्म पर्ने ओखरको विरुवालाई ७२५ रुपैयाँ प्रति बोट खरिद गरेकोमा यो मुल्य मा नै अस्वभाविक देखिएको हो । जुम्लाको पाताराशी गाउँपालिका लगायत ओखरका विरुवा पाइने जुम्लाका विभिन्न नर्सरी फर्महरुमा बुझ्दा तत्कालिन खरिद मुल्य अस्वभाविक हो । हामीले यस बिषयमा बुझ्न खोज्दा कर्मचारीको मिलेमत्तोमा खरिद मुल्य बढी राखेर विरुवा खरिद गरिएको हुन सक्ने सिम्ता गाउँपालिकाकै पदाधिकारीको आशंका छ ।

यता, विरुवा खरिदको दरको बारेमा बुझ्न खोज्दा वडामा एन्जल फलफुल नर्सरी उत्पादन केन्द्र भए नभएको आफुलाई जानकारी नभएको पातारासी गाउँपालिका–३ का वडा अध्यक्ष गोविन्द रावतले जानकारी दिनुभयो ।

प्राप्त विवरण अनुसार विरुवा खरिदमा ८ लाख ९५ हजार ३७५ रुपैयाँ, ढुवानी खर्च ६५ हजार रुपैयाँ, प्याकेजिङमा ९० हजार ७७२ रुपैयाँ, व्यवस्थापनमा २३ हजार ५०० रुपैयाँ र विरुवा लगाउन खाडल खनेबापतको ज्याला ६ लाख ८७ हजार ८१० रुपैयाँ खर्च भएको छ । तर आफुहरुले खाडल खने बापतको ज्याला नपाएको स्थानिय देव बहादुर खत्रीले गुनासो गर्नुभयो । खाडल खनेको ज्याला किसानलाई दिनुपर्ने स्टामेटमा उल्लेख आफुहरुले नपाएको उहाँको भनाई छ ।

अनुगमनमा जाँदा किसानले ज्याला नपाएको बिषयमा आफुलाई जानकारीमा आएको र अनुगमनका क्रममा प्रमाणित भएको गाउँपालिका उपाध्यक्ष एवं अनुगमन समिति संयोजक गोमा शर्मा रेग्मि बताउनुभयो । अनुगमनका क्रममा विरुवा खरिदमा सरकारी दररेट भन्दा बढी मुल्य देखाएको र बिलमा किसानलाई खाडल खनेको पैसा दिएको भनेको तर नदिएको प्रमाणित भएपछि अनियमितताको आशंका भएकाले आफुले अनुगमन प्रतिवेदनमा हस्ताक्षर समेत नगरेको उपाध्यक्ष गोमा शर्मा रेग्मिको तर्क छ ।

विरुवा खरिदमा प्रमुख प्रशासकिय अधिकृत पंगाली लगायतको मिलेमत्तोमा बिलभरपाई मिलाएर अनियमितता भएको आशंका गरिएको छ । सार्वजनिक खरिद ऐन, २०६३ मा उल्लेखित सोझै खरिद विधि अनुसार १० लाख बढी रकमको सामान सोझै खरिद गर्न नमिल्ने भएको यस्तो गरिएको प्रमुख प्रशासकिय अधिकृत भलाराम पंगालीले बताउनुभयो । उहाँका अनुसार विरुवाको दर मंहगो भएको र सोझै खरिद विधि भन्दा अन्य विधि अपनाउन जटिलता भएकाले खाडल खनेबापतको ज्याला विरुवा खरिदमा लगानी गरिएको छ ।

उपाध्यक्ष रेग्मि भने यो सब बहाना भएको बताउनुभयो । अध्यक्ष, अधिकृत र उपाध्यक्षसँग छलफल नगरी सरकारी दररेट भन्दा बढी मुल्य देखाएर खरिद गरिएको उहाँको भनाई छ । उपाध्यक्ष गोमा शर्मा रेग्मीले किसानलाई खाडल खनेबापतको पैसा नदिएसम्म भुक्तानीका लागि हस्ताक्षर नगर्ने जिकिर गर्नुभयो ।