२०८१, १५ मंसिर शनिबार

निर्मलालाई न्याय

तिमीले पाउने न्यायको ढिलासुस्तीसँगै

न्यायको ठेकेदारतिर औंला ठडिँदै छ

समाजका मुकुण्डोधारीहरू नांगिँदैछन्

रक्षक नै भक्षक भएको प्रस्टिदैछ

न्यायको मन्दिर उदांगिँदै छ ।

 

तिम्रो न्यायको आयोग गठनसँगै,

अनेक नाटक मञ्चन भयो

कहिले निर्दोषलाई थुनियो

त कहिले जिम्मेवारीले राजीनामा दियो

अब कति आयोग गठनको नाटक हुने हो कुन्नि ?

 

तिमीलाई एक अवला र असहाय ठान्ने गल्तीले,

गैर जिम्मेवारीहरूको जीवन धर्मराउँदैछ

बलात्कारको प्रमाण

मेटाउनेहरूको अस्तित्व मेटिँदैछ

मानवतामा कलंक पोत्नेहरू कमजोर हुँदैछ

अर्कोतिर न्याय खोज्नेको संख्या बढ्दैछ

तिम्रो रोदनले असंख्य

न्यायप्रेमीहरूलाई एक सूत्रमा बाँध्दैछ ।

 

यसर्थ, तिम्रो लागि न्यायको चर्को आवाज,

गल्ली गल्लीमा गुञ्जिदैछ

सामाजिक सञ्जालमा फैलिँदैछ

यसले सरकार हडबडाउँदैछ

न्यायविरोधीहरूको पाइला लड्बडाउँदैछ

उनीहरूको निर्णय डगमगाउँदैछ ।

 

यहाँ, तिमीमाथिको बलात्कार एक नारीमाथि देखियो,

तर, यो हर आवाजविहीनको विवशतामाथि हो

समाजमा व्याप्त गरिबीमाथि हो

दयनीय सुरक्षा व्यवस्थामाथि हो

ढोँगी कानुन प्रणालीमाथि हो

र समस्त मानवतामाथि हो ।

अब, तिम्रा हरेक चित्कारले एटमको रूप लिँदैछ

तर, त्यसले हिरोसिमा र नागासाकीमा जस्तो

निर्दोष मानवमा प्रहार होइन

यसले बलात्कारीको पुरुषत्वमाथि हुन्छ

यस्तालाई आड दिने हरेक शक्तिमाथि हुन्छ

सम्पूर्ण बलात्कारी प्रवृत्ति वंशमाथि हुन्छ

यो बमले हर आवाजविहीनको रक्षा गर्छ

र नयाँ सुरक्षित समाज सिर्जना गर्छ ।

(लेखक-: रवि कुमार श्रेष्ठ)