धान दिवसको महत्व
यो वर्षको धान दिवसको नारा ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ भन्ने तय गरिएको छ । २०६१ मंसिर २९ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।
किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोक लयका गीत गाउँदै धान रोप्ने र हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने चलन छ । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।
असार १५ लाई नेपाली समाजमा धान रोप्ने र दही चिउरा खाने पर्वको रुपमा पनि लिइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् ।
खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि दही चिउरा खाई असार १५ मनाउँछन् । दही चिउराले शरीर शीतल भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
