२०८१, २ मंसिर आईतवार

प्लाष्टिकजन्य वस्तुको प्रयोग घटाऔं : सम्पादकिय

प्लाष्टिक र प्लाष्टिकजन्य वस्तुको प्रयोग अहिले नेपालमा मात्र नभई संसारभरी टाउको दुखाइको विषय बनेको छ । प्लाष्टिकजन्य प्रदूषण त्रासदी बनेको छ, जसले विश्वको हरेक भागलाई असर गरेको छ । प्लाष्टिकजन्य प्रदूषण एउटा यस्तो खतरा हो, जसले उत्तरी ध्रुवदेखि हामीले सास फेर्ने हावासम्मका हरेक क्षेत्रमा असर गरेको छ । प्लाष्टिकजन्य प्रदूषणले हाम्रो जैविक प्रणालीलाई पनि परिवर्तन गरिरहेको छ । यसले पारिस्थितिक प्रणाली पनि परिवर्तन गर्दै लगेको छ ।

वैज्ञानिकहरूले हालै ब्राजिलको दुर्गम टापुमा प्लाष्टिकबाट बनेका चट्टान फेला पारेका छन् भने अहिले प्रशान्त महासागरका केही भागमा यति धेरै प्लाष्टिक तैरिरहेका छन् कि तिनमा तटीय जीवहरूका समुदाय फस्टाउँदैछन् । राष्ट्रसंघीय वातावरण कार्यक्रमको एउटा नयाँ प्रतिवेदनअनुसार सन् २०२१ मा विश्वले १३ करोड ९० लाख मेट्रिक टन प्लाष्टिकजन्य फोहोर उत्पादन गरेको थियो । कुनै कदम नचालिएमा सन् २०६० सम्ममा प्लाष्टिकको विश्वव्यापी उत्पादन तीन गुणाले बढ्ने अनुमान गरिएको छ । उक्त प्रतिवेदनले यो पनि भनेको छ कि अब पर्यावरणीय सन्तुलन कायम गर्न विश्वले नयाँ अभियानकै रूपमा प्लाष्टिकजन्य वस्तुको प्रयोग घटाउनुपर्ने छ ।

नेपालमा पनि प्लाष्टिकजन्य वस्तुको प्रयोग अत्यधिक छ । बेला– बेला प्लाष्टिकजन्य वस्तुको प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरिए पनि यसको सार्थक कार्यान्वयन हुन सकिरहेको छैन । नेपाल सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेटमार्फत् नै ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकका झोला उत्पादन, बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । २०७८ साउन १ गतेदेखि पूर्णरूपमा प्रतिबन्ध लगाउने नीतिगत रूपमा सरकारले उद्घोष नै गरिएको थियो । त्यसो त सर्वोच्च अदालतले २०७८ साउन २८ गते नेपाल सरकारले घोषणा गरेको प्रतिबन्धलाई प्रभावकारी पालना गराउन कार्यान्वयन योग्य कार्ययोजना तयार गरी प्लाष्टिक झोलाको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा देशभर प्रतिबन्ध आदेश दिएको थियो । आफूले प्रयोग गर्ने अत्यावश्यकीय वस्तु खरिदका लागि अन्य झोला प्रयोग गर्ने हो भने प्लाष्टिकको प्रयोग कम हुँदै जानेछ । सरसफाइ आनीबानीसँग पनि जोडिएकाले यसलाई बृहत् सचेतना अभियानकै रूपमा अघि बढाउनु आवश्यक छ ।