२०८३, १७ असार बुधबार

कर्णालीमा २८ प्रतिशत धान रोपाई

सुर्खेत : कर्णाली प्रदेशमा असार १५ गतेसम्म २८ प्रतिशत धान रोपाई सकिएको छ । मनसुन समयमा नै सक्रिय नहुँदा कर्णालीमा २८ प्रतिशत धान रोपाई सकिएको हो ।
कर्णालीमा २५ लाख २५ हजार २७६ हेक्टर क्षेत्रफल जमिनमध्ये २ लाख ९९ हजार ३३९ हेक्टर क्षेत्रफल खेतीयोग्य छ । त्यसमध्ये पनि २ लाख १६ हजार ८८० हेक्टर क्षेत्रफलमा खेती गरिन्छ । खेती गरिने कुल जमिनमध्ये ३८ हजार ८८६ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ हुन्छ ।
कुल रोपाई हुनेमध्ये १० हजार ८९२ हेक्टर क्षेत्रफल जमिनमा (२८ प्रतिशत) धान रोपाई भएको भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयले जनाएको छ ।
जसमध्ये सबैभन्दा धेरै जुम्लामा ९८ प्रतिशत रोपाइँ भएको छ भने सबैभन्दा कम सुर्खेतमा जम्मा ५ प्रतिशत भएको छ ।
कालिकोटमा ६०, हुम्लामा ७२, मुगुमा ३४, सल्यानमा ३०, डोल्पामा ९६ प्रतिशत, दैलेखमा १५ प्रतिशत, जाजरकोटमा ३८ र रुकुम पश्चिममा ४० प्रतिशत धान रोपाई भएको छ । अघिल्लो वर्षमा यो अवधिमा यी जिल्लामा ४५ प्रतिशतभन्दा माथि रोपाइँ सम्पन्न भएका थिए ।
जुम्लामा जेठ महिनादेखि नै रोपाइँ सुरु हुन्छ । झण्डै २९ सय हेक्टर क्षेत्रफलमा धान रोपाई हुने जुम्लाका अधिकांश ठाउँमा मार्सी धान रोपिन्छ । अधिकांश ठाउँमा धान रोपाइँ सम्पन्न भएको र ४० प्रतिशतको हाराहारीमा धान गोडमेल समेत गरिसकिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । गत वर्ष असार १५ सम्म जुम्लामा रोपाइँ सम्पन्न भइसकेका थिए ।