२०८१, ७ बैशाख शुक्रबार

३५ लाख रुपैयाँ हिनामिना गरी सहकारीका प्रबन्धक फरार

सल्यान : सल्यानको एक कृषि सहकारीका प्रबन्धक ३५ लाख रुपैयाँ हिनामिना गरी बेपत्ता भएका छन्।जिल्लाको दार्मा गाउँपालिका ४ रातामाटामा रहेको भल्चौर महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धक हेमन्त ओली उक्त सहकारीको पैसा हिनामिना गरी बेपत्ता भएका हुन्।

सहकारीका अध्यक्ष हरिकला मल्लले एक सूचना जारी गर्दै ओलीलाई उपस्थित भएर हिसाबकिताब बुझाउन आग्रह गरेकी छन्। सम्पर्क विहीन भएको भन्दै इलाका प्रहरी कार्यालय फारुलामा पनि उजुरी दिएको उनकाे भनाई छ।

प्रबन्धक ओलीले ३५ लाख हिनामिना गरेको उनकाे भनाई छ।

गत जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकमा ओलीले पैसा हिनामिना गरेको स्वीकारेको र जेठ ३० गते उक्त रकम बुझाउने प्रतिबद्धता जाहेर गरेका थिए। तर भोलिपल्टदेखि सम्पर्क विहीन भएको अध्यक्ष हरिकलाले बताइन्। अहिले ओलीका सम्पूर्ण मोबाइल अफ भएको र कसैको सम्पर्कमा समेत नआएको उनले गुनासाे गरिन्।

जेठ ३० गतेका दिन फोन सम्पर्क गर्दा बैठक बसाउँदै गर्नु म पैसा लिएर आउँदै छु भनेर उनी फोन स्वीच अफ गरेर सम्पर्क विहीन भएको सहकारी संस्थाले जनाएको छ।

अहिलेसम्म सहकारी र परिवारको सम्पर्कमा नआएकोले २०७९ असार १४ गते बसेको सञ्चालक समितिको पूर्ण बैठकले गाउँपालिका, वडा कार्यालय, साना किसान बैङ्क र निजको परिवारको समेत उपस्थितिमा निजलाई १ हप्ताभित्र सहकारीको सम्पर्कमा आएर हिसाब किताब बुझाउन अन्तिम म्याद दिइएको छ।

७ दिनभित्र सम्पर्कमा नआएमा उनकाे चल अचल सम्पत्ति सहकारीको नाममा रोक्का गर्ने र उनलाई हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा प्रक्रिया अघि बढाउने अध्यक्ष मल्लले जानकारी दिइन्।