२०८१, ३० आश्विन बुधबार

आर्थिक गतिविधिको सवाल :सम्पादकिय

सम्पादकिय : केही समययता मुलुकमा चरम आर्थिक मन्दी छाएको अवस्था छ । आर्थिक गतिविधि चलायमान हुन नसक्दा पेशा, व्यवसायहरु संकट उन्मुख छन् र रोजगारीका अवसरहरु गुम्दै गएका छन् । यस्तो बेला रोजगारीका नयाँ अवसरहरु सिर्जना हुने कुरै भएन । देशका प्रमुख शहरहरुमा व्यावसायिक सटरहरु खाली हुँदै गएका छन् । उद्योगधन्दाहरु बन्द हुँदैछन् । यसले राम्रो भविष्यको संकेत गर्दैन । यो स्थितिलाई अन्त्य गरेर अर्थतन्त्रलाई चलायमान बनाउन राज्य गम्भीर बन्नुपर्छ र यसमा निजी क्षेत्रले पनि आफ्नो भूमिका निर्वाह गर्न उत्तिकै जरुरी हुन्छ ।

यतिबेला ठूलो संख्यामा युवा जनशक्ति विदेश पलायन भइरहेको छ । यो सँगसँगै स्वदेशी पूँजी पनि बाहिरिएको छ । सरकारले रेमिट्यान्सबाट आएको रकमलाई बढाइचढाइ गरेर प्रचार गरिरहँदा उत्तिकै मात्रामा ठूलो रकम बाहिरिएको यथार्थलाई समेत बुझ्न बुझाउन नसकेको अवस्था छ । युरोप, अमेरिका जस्ता सम्पन्न मुलुकमा जानेहरुको संख्या बढ्दै जाँदा पूँजी पनि पलायन भइरहेको छ । उत्पादनशील युवा जनशक्तिले मुलुकभित्र आफ्नो भविष्य देख्न सकिरहेको छैन । यसले अन्ततः मुलुकभित्र युवा जनशक्तिको अभाव हुनेछ र यसबाट समाजका हरेक क्षेत्रमा नकारात्मक प्रभाव पर्नेछ । यो स्थितिमा मुलुकको अर्थतन्त्र झन संकटमा पर्नेछ ।

कोभिड महामारीले विश्वव्यापीरुपमा स्वास्थ्य, शिक्षा, पर्यटन आदि क्षेत्रलाई सबैभन्दा बढी प्रभावित पा¥यो । यसको प्रभाव सिधै अर्थतन्त्रमाथि पर्न गयो । विदेशी अनुदान र दातृ निकायबाट प्राप्त हुने सहयोग बन्द हुने र घट्ने परिस्थिति सिर्जना भयो । महामारीले नेपालको पर्यटन क्षेत्रलाई थला पारेको छ र यो अझै राम्ररी उठ्न सकेको छैन । नेपालको अर्थतन्त्रको प्राण वायु भनेकै कृषि, पर्यटन र जल विद्युत हो । जलविद्युतको क्षेत्रमा केही सकारात्मक संकेत देखिएका छन् । भर्खरै मात्र सरकारले आ.व. २०८१÷०८२ को मौद्रिक नीति सार्वजनिक गरेर शेयर बजार भने उकालोको यात्रातर्फ गएको छ । यसले गर्दा सम्पूर्ण क्षेत्रहरु पनि चलायमान हुने आशा भने गर्न सकिन्छ । देशमा आर्थिक गतिविधिहरुको बृद्धि हुने देखिन्छ ।