२०८१, २५ भाद्र मंगलवार

कांग्रेसबाट सिफारिस मन्त्रीको शपथ भएन

सुर्खेत: कर्णालीमा नेपाली कांग्रेसबाट सिफारिस मन्त्रीहरूको शुक्रबार शपथ ग्रहण हुन सकेन । कांग्रेसले शुक्रबार बिहान ११ बजे नै मुख्यमन्त्री यामलाल कँडेललाई मन्त्रीको नाम बुझाइसकेको थियो ।

कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजया बुढाको नाम दिएको थियो ।

कांग्रेसले शुक्रबार नै शपथ हुने गरी मन्त्रीको नामावली मुख्यमन्त्रीलाइ बुझाए पनि शपथ नभएको हो ।

मुख्यमन्त्री यामलाल कँडेल केही दिन शपथ रोक्ने तयारीमा छन् । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले मन्त्रीको शपथका लागि मुख्यमन्त्रीबाट यो समाचार तयार पार्दासम्मकुनै पत्र नआएको बताए ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मतबहादुर बिष्टले आफूहरूले बिहानै नामावली बुझाए पनि मुख्यमन्त्रीले शपथ कार्यक्रम  अगाडि नबढाएको बताए । त्यसको कारण आफूहरूलाई थाहा नभएको उनको भनाइ छ । ‘‘शपथ कार्यक्रम नबढेपछि मैले उहाँलाई किन भएन भनेर सोधेँ, उहाँ (मुख्यमन्त्री)ले शुक्रबार पनि हुन्न, शनिबा र पनि हुन्न, आइतबारसम्म होला भनेर भन्नुभयो,’’ विष्टले भने, ‘‘कारण सोध्दा केही छलफल गर्नुपर्ने छ भनेर भन्नुभयो ।’’

मुख्यमन्त्री कँडेलले मन्त्रालयभित्रको पुनर्संरचनाको विषयमा कांग्रेससँग कुरा राखेका थिए । कुनै मन्त्रालयमा कामको जिम्मेवारी धेरै, कुनैमा निकै कम भएकाले कम जिम्मेवारी भएका मन्त्रालयलाई पनि जिम्मेवारी थप्ने गरी मन्त्रालय भित्रको पुनर्संरचनाको विषयमा कँडेलले यसअघि देखिनै चासो दिइरहेका थिए ।

‘‘उहाँले यो मिलाउनुप¥यो भन्नुभयो, मैले शपथ ग्रहण गराउनुहोस्, त्यो मिलाउने काम त सरकारको हो भनेर भनेँ’’ बिष्टले भने, ‘‘शपथ गराइएपछि आवश्यक परेर छलफल गरौँला भनेर भनेको हुँ तर, उहाँले मान्नुभएन ।’’

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा परेसँगै प्रदेशमा प्रमुख सचेतकका रूपमा विष्टले नै पार्टीको तर्फबाट नेतृत्व गरिरहेका छन् ।

यदि त्यसो गर्ने भएपनि शुक्रबार बिहानै छलफल गर्न आह्वान गर्नुपर्ने तर त्यसो नगरेको उनको भनाइ छ । पछि बीचमा १ बजे छलफल गरौँ भनेर मुख्यमन्त्रीले भनेकोमा आफूले अहिले हुँदैन पछि जीवनजी आएपछि छलफल गरौँला भनेर जवाफ दिएको बिष्टले बताए । त्यसपछि म सम्बन्धित व्यक्तिसँग छलफल गर्छु भनेर कँडेलले फोन राखेका थिए ।

यता, मुख्यमन्त्रीको सचिवालयका अनुसार पनि शुक्रबार कांग्रेस मन्त्रीको शपथ ग्रहणको विषय खासै अघि नबढेको जनाएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईंले आन्तरिक तयारी नपुगेका कारण शपथ रोकिएको हुन सक्ने बताए । ‘‘समस्या खासै केही छैन, प्रदेश प्रमुख शुक्रबार नै आउनुभयो केही आन्तरिक तयार नपुगेको होला,’’ पछाईंले भने । प्रदेश प्रमुख यज्ञराज जोशी शुक्रबार बिहान मात्रै कर्णाली आएर पदभार ग्रहण गरेका थिए ।