२०८१, ३० आश्विन बुधबार

प्राकृतिक विपत्तीको पूर्व तयारी गरौांरी अपनाउनु पनि जरुरी छ ।

सम्पादकिय: यो वर्ष विगतको तुलनामा धेरै पानी पर्ने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ । अघिल्लो वर्ष प्रक्षेपण गरिएअनुसार नै औषतभन्दा कम वर्षा भएकाले यो वर्ष पनि बढी आँकलनअनुसार बढी वर्षा हुन सक्छ किनकी विगत चार वर्षदेखि नेपालले विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रको हावापानी प्रारूपको आँकलन, जल तथा मौसम विज्ञान विभागको मनसुनी वर्षा आँकलन गर्ने प्रारूप र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आँकलनका आधारमा मनसुनी प्रक्षेपण गर्ने गरेकाले अनुमान मिल्दै आएको छ । सामान्यतः जेठ अन्तिम सातादेखि भित्रिने मनसुन असोज दोस्रो सातासम्म रहने गर्दछ । यो वर्ष असारको दोस्रो सातादेखि मनसुन सक्रिय भएकाले अझै ढिलासम्म रहन सक्छ ।

लामो समयसम्म विस्तारै विस्तारै धेरै पानी पर्नु खासै समस्या होइन तर छोटो समयमा धेरै पानी पर्ने पछिल्लो जुन अवस्था देखा परिरहेको छ, यो बढी खतरनाक हुन्छ । जलवायु परिवर्तनको चरम मारमा रहेका नेपालजस्ता देशहरुमा अतिवृष्टि, अनावृष्टि र खण्डवृष्टिको ठूलो समस्या देखा पर्न थालेको छ, यो बढी जोखिमयुक्त हुन्छ । कतिबेला कुन ठाउँमा कति पानी पर्ने ठ्याक्कै अनुमान गर्न नसकिने भएकाले पनि हरेक ठाउँमा जोखिमको आँकलन गरेर सावधानी अपनाउनु आवश्यक छ ।

जुनसुकै ठाउँमा जतिबेला पनि विपत् आउनसक्ने भएकाले सम्भावित जोखिमस्थलहरुको पहिचान गरेर निरन्तर सावधानी अपनाउनुपर्ने हुन्छ । यसका लागि संघीय सरकारले प्रतिकार्य गुरुयोजना नै बनाएर काम अघि बढाएको छ भने प्रदेश र स्थानीय तहहरु पनि निरन्तर लागिरहेका छन् । विपत् व्यवस्थापनमा सबैभन्दा महत्वपूर्ण भूमिका स्थानीय तह र स्थानीय समुदायको नै हुने गर्दछ । सुरुवाती चरणमा सरकारी निकायहरु प्रभावकारीरुपमा नै परिचालन भएको देखिएको छ । विपत्का सूचना पाउनेबित्तिकै प्रहरी परिचालन गरेर उद्धार गर्दा मानवीय क्षति खासै हुन पाएको छैन । यो तदारुकतालाई अझै बढाएर लैजानुपर्छ । सरकारले सबै प्रमुख जिल्ला अधिकारीहरुलाई जिल्ला नछाड्न, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुलाई चौविसै घण्टा तयारी अवस्थामा राख्न निरन्तर निर्देशन दिइरहेको छ । अहिलेकै तदारुकता तीनै तहका सरकार र स्थानीय समुदायको समन्वयमा काम अघि बढ्यो भने बाढी पहिरोबाट हुने जनधनको क्षति कम गर्न सफलता प्राप्त हुनेछ । यसको लागि पूर्व तयारी अपनाउनु पनि जरुरी छ ।