२०८१, १८ भाद्र मंगलवार

बाढीपहिरोका कारण कार्णाली राजमार्ग अवरुद्ध,

सुर्खेत: शुक्रबारदेखिको निरन्तर वर्षाका कारण कर्णालीका मुख्य सडक तथा राजमार्गहरू पहिरोले अवरुद्ध भएका छन् ।

सडक अवरुद्ध हुँदा यातायातका साधनहरू आवत–जावतमा समस्या आएको छ । विशेषगरी माथिल्लो कर्णालीमा शुक्रबारदेखि यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।

प्रदेश ट्रफिक कार्यालयका अनुसार कर्णाली राजमार्ग, कर्णाली करिडोर र भेरी करिडोरको ठाउँ–ठाउँमा पहिरो जानुका साथै कतै पुल बगाएको छ भने कतै पानीको सतह बढेकाले सडक अवरुद्ध भएका छन् ।

वर्षा निरन्तर भइरहेकाले पहिरो हटाउन समस्या भइरहेको छ । शुक्रबार मध्यराति नै पहिरोले अवरुद्ध भएको कर्णाली राजमार्ग अझै सुचारु हुन सकेको छैन । विशेषगरी राजमार्गको कालिकोट सडकखण्डका ठाउँ–ठाउँमा पहिरो गइरहेको छ ।

जिल्ला प्रहरी कालिकोटका सूचना अधिकारी, प्रहरी निरीक्षक पोषण थापाका अनुसार शुक्रबार पहिरो गएको राजमार्ग अन्तर्गत खाँडाचक्र नगरपालिका–२ को हुल्म बजारको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालनमा आएको छ । उक्त ठाउँमा निकै ठुलो पहिरो गएको थियो । ‘पहिरो अझै खसिरहेको छ,’ उनले भने ।

सोही नगरपालिकाको वडा नम्बर ४ को छेका बजारमा पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त पहिरो आइतबार बिहान गएको हो । त्यहाँ ठुलो वर्षा भइरहेकाले पन्छाउन समस्या भइरहेको प्रहरी निरीक्षक थापाले रातोपाटीलाई जानकारी दिए ।

खाँडाचक्र नगरपालिका–२ को गगने खोलामा शुक्रबार नै गएको पहिरो अझै हटाउन सकिएको छैन । ठुलो पहिरो गएको र बग्ने क्रम जारी भइरहेकाले पन्छाउन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । यस्तै कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका–५, बिजने खोलामा पनि पहिरोले सडक अवरुद्ध भएको छ ।

कर्णाली करिडोर अन्तर्गत हुम्लाको नाम्खा गाउँपालिका–१ हाप्का खोलाको काठे पुल बगाएकाले सडक अवरुद्ध भएको छ । उक्त पुल बाढीले शुक्रबार नै बगाएको हो । कर्णाली करिडोर अन्तर्गत पर्ने कालिकोटको शुभकालिका गाउँपालिका–१, को एस मोडमा पनि ठुलो पहिरोले सडक अवरुद्ध भएको छ । यहाँ पनि पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन समस्या भइरहेको छ ।

यही करिडोरको पचाल झरनाको फुकोट, भार्तडीमा आइतबार दिउँसो १२ बजेतिर ठुलो पहिरो गएको छ । ठुलो पानीका कारण यहाँ पनि पन्छाउन समस्या छ । कर्णाली राजमार्ग र कर्णाली करिडोर अवरुद्ध हुँदा माथिल्लो कर्णालीको यातायात सेवा बन्द भएको छ भने सवारी साधन बिच बाटोमा अलपत्र परिरहेका छन् । ‘कुनै मानवीय क्षति भएको छैन, यातायातका साधन ठप्प छन्,’ प्रहरी निरीक्षक थापाले भने ।

उता भेरी करिडोर अन्तर्गत रुकुम पश्चिमको आठबिस नगरपालिकाको ६ नम्बरमा पर्ने रोजीघाटमा पानीको सतह बढेका कारण सडक अवरुद्ध भएको छ भने सिम्ता गाउँपालिकाको कालिखोलामा पानीको बहावका साथै पहिरोले बाटो अवरुद्ध छ । करिडोर अवरुद्ध हुँदा जाजरकोट, रुकुम पश्चिम हुँदै डोल्पासम्म पुग्ने र फर्कने यातायाताका साधन बाटोमा रोकिएका छन् ।

ठुला राजमार्गमा पहिरो पन्छाउन निकै समस्या भइरहेको देखिन्छ । विशेषगरी केन्द्र सरकारको सडक डिभिजनले हेर्ने यी सडकहरूमा डिभिजनको बाहेक पालिका र प्रदेश सरकारले कुनै सहायता प्रदान नगरेको प्रहरीको गुनासो छ ।

कर्णाली राजमार्गको कालिकोट खण्डको पहिरो हटाउन सडक डिभिजनको जुम्ला कार्यालयबाट मेसिनहरू पुगेका छन् तर, स्थानीय पालिकाहरूसँग मेसिनहरू हुँदा पनि पहिरो पन्छाउने काममा सहयोग गरिरहेका छैनन् ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक अर्जुन चन्द ठकुरीले प्रदेशभर प्रहरी तयारी अवस्थामा रहेको रातोपाटीलाई बताए ।

बाढीले एक बालिका बेपत्ता

आइतबार बाढीले बगाउँदा सुर्खेतको सिम्ता गाउँपालिका–९ की ७ वर्षीय मनिषा वादी बेपत्ता भएकी छन् । उनलाई गाउँकै कुदाल खोलाले बगाएर बेपत्ता बनाएको हो ।

निरन्तर वर्षाले खोलामा पानीको बहाव बढेको थियो । उनको खोजीकार्य भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

अवरुद्ध विद्युत् सेवा सुचारु

आइतबार बिहानदेखिनै अवरुद्ध भएको कर्णालीको विद्युत् सेवा पुनः सुचारु भएको छ । सुर्खेत जिल्ला अन्तर्गत लेकबेसी नगरपालिका–६, हिलेशोतामा रुख ढलेर बिजुलीको तारमा क्षति पुर्‍याउँदा विद्युत् अवरुद्ध भएको थियो ।

कोहलपुर–सुर्खेत ३३ केभी अन्तर्गतको मुख्य लाइन अवरुद्ध भएपछि सुर्खेत, दैलेख, कालिकोट हुँदै माथिल्लो कर्णालीमा जिल्लाहरू विद्युत् विहीन बनेका थिए ।

विद्युत् तारको मर्मत पश्चात अपराह्न चार बजेदेखि विद्युत् सेवा सुचारु भएको हो ।