२०८१, १७ भाद्र सोमबार

अवरुद्ध कर्णाली राजमार्ग पाँच दिनपछि खुल्यो

कालिकोट, असार २५ :  पहिरोले पाँच दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग र करिडोर मंगलबार दिउँसोबाट खुलेको छ । कर्णाली राजमार्गको एस मोड र गगने खोलाको बीचमा पहिरोसँगै आएको विशाल ढुंगा ब्रेकरले फुटाएपछि सञ्चालनमा आएको हो ।

सडक खुलेपछि खिड्कीज्यूला, दैखोला, हुल्म, कालेखोला, मान्म लगायतका ठाउँमा रोकिएका यात्रुवाहक र मालवाहक गाडी गन्तब्यतर्फ लागेका छन् । चार दिन बाटोमा अलपत्र अवस्थामा बस्यौं सुर्खेतबाट मुगुका लागि खाद्यान्न बोकेर आएको मिनी ट्रक चालक सन्तोष खत्रीले भने,बल्ल बाटो खुल्यो, जान पाइने भयो ।

कर्णाली राजमार्ग हुँदै कालीकोटको पूर्वी भेगसहित जुम्ला, मुगु जाने र सुर्खेततिर झर्ने यात्रुहरु आआफ्नो गन्तव्यतिर लागेको जुम्ला कनकासुन्दरी ७ का दलबहादुर बुढाले बताए । बाटोमा खाने खर्च पनि थिएन । उनले भने, वर्षाले दुःख पाइयो, बाटो खुल्यो अब घर पुगिएला । वर्षाले अवरुद्ध कर्णाली राजमार्गमा आएको ढुंगा दुई दिन लगाएर ब्रेकरले फुटाएपछि दिउँसो ३ बजेबाट संचालनमा आएको कालीकोटका डीएसपी अर्जुन केसीले बताए । हिजोदेखि निरन्तरको प्रयासपछि बल्ल ढुंगा फुटाएर एकतर्फी सडक संचालन गर्न सफल भयौं, उनले भने, ढुंगा फुटाउन दुईवटा ब्रेकर लगायौ । उनले साइडमा कामको सहजीकरण गर्न सुरक्षा अधिकारीसहितको टोली मंगलबार बिहानैदेखि एसमोड गएको सुनाए ।

सडक डिभिजन कार्यालय जुम्ला, हेभी इक्वीमेन्ट नेपालगन्ज र सडक डिभिजन कार्यालय सुर्खेतबाट खटिएको जनशक्ति र एक्स्काभेटर लगायतका साधनको प्रयोग गरेर पहिरो हटाइएको हो । सडक डिभिजन जुम्लाका प्रमुख चेतनकुमार मण्डलले आफ्नो कार्यालयको कार्यक्षेत्र भएपनि सबै कार्यालयको दक्ष शक्तिले काम गरेकाले पाँच दिन लगाएर पनि सडक सुचारु भएको बताए । अझै दुई तर्फी सडक खुलाउनका लागि पहिरोले क्षति र्पुयाएको सडकलाई चौडा बनाउने काम जारी रहेको बताए ।

त्यस्तै, वर्षाले अवरुद्ध कर्णाली करिडोरको रेगिंल भीरको पहिरो पन्छाएपछि कर्णाली करिडोर पनि संचालनमा आएको कालीकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए । कर्णाली क रिडोर हुँदै कालीकोटको पश्चिमी क्षेत्रमा पर्ने सान्नीत्रिवेणी, रास्कोट, पचालझरना, पलाता, बाजुराको पूर्वी भेग, मुगेको खल्याड क्षेत्र र हुम्लाका बासिन्दा गन्तव्यतर्फ लागेका छन् ।

कर्णाली करिडोरको भुराबगर, भात्तडीलगायतका ठाउँको पहिरो हटाइए पनि रेगिंल भीरको पहिरो हटाउन बाँकी थियो भने कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडक अन्तर्गत कालीकोटको मान्मदेखि जुम्ला खण्डको पहिरो हटाइए पनि गगनेखोला नजिकै खसेको ठूलो ढुंगा विस्फोट गराउनु पर्ने भएकोले सडक खुल्न सकेको थिएन । असार लागे यता
कर्णाली राजमार्ग सुर्खेत(जुम्ला सडक १७ पटक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले बताए । मानवीय क्षति भएको छैन, उनले भने घर, गोठ र घट्ट गरेर १६ वटा क्षति भएका छन् । एक दर्जनभन्दा बढी पशुचौपाया पनि मरेका उनले बताए । यसैबीच, कर्णाली राजमार्गको एस मोडमा विद्युत्तको पोल ढलेर पाँच दनिदेखि अवरुद्ध विद्युत् सेवा पनि मंगलबार दिउँसोदेखि संचालनमा आएको छ । पोल ढल्दा कालीकोटसहित जुम्ला र मुगुमा विद्युत् अवरुद्ध थियो । ४ दिन काम गरेर विद्युत्तको नयाँ पोल गाडेर सञ्चालन गरिएको विद्युत् कार्यालय कालीकोटका सूचना अधिकारी जयप्रसाद पाण्डेले बताए । उनका अनुसार विद्युत्तका ५ जना कर्मचा री कार्यालय प्रमुखसहित साइडमा खटिएका थिए ।