जाजरकोटका धामीझाँक्री भन्छन् – जातीय विभेद अन्त्यको अभियान चाल्छौं
जाजरकोट : धामीझाँक्री, सामाजिक अभियानकर्मीले जातीय छुवाछुत अन्त्यका लागि आफूहरुले पहल गर्ने बताएका छन् ।
भेरी नगरपालिकाका सबै वडाबाट सदरमुकाम आएका धामीझाँक्रीले जातीय विभेद् नगर्ने र गरेको थाहा पाए सचेतना जगाउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले बताए ।
भेरी नगरपालिकाको जातीय विभेद् अन्त्य गर्ने भन्दै विभिन्न कार्यक्रम जारी राखेको समयमा प्रहरीले समेत यसमा विशेष चासो राखेको छ । नगर उपप्रमुख सीता जैसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहभागी सबैले जातीय विभेद् नगर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । नागरिक अगुवा राजेन्द्रविक्रम शाहले जातीय विभेद् अन्त्य गर्नका लागि समाजको चेतनास्तरमाथि उठ्नुपर्ने बताए ।
समाजमा रहेका धामीझाँक्री, सामाजिक अभियानकर्मीसहित सबैले जातीय विभेद् अन्त्यका लागि साझा अभियानका साथ अगाडि बढाउने साझा प्रतिबद्धता भएको प्रहरीको भनाइ छ । प्रहरीले योभन्दा अगाडि सबै वडामा जातीय विभेदका बारेमा कार्यक्रम गरी सचेतना जगाउने काम गरिसकेको छ ।
सबै वडामा कार्यक्रम पश्चात् सदरमुकाममा वडाबाट आएका अगुवासँग छलफल गरी साझा प्रतिबद्धता व्यक्त गर्न लगाएको हो । जातीय विभेद्का मुद्दा पछिल्लो समय कम आउने गरेको उपरीक्षक निरौलाले बताए । भेरी–४ रानागाउँका नवराज विकसहितका अन्य युवालाई कथित माथिल्लो जातकी युवतीसँग प्रेम गरेको भन्दै हत्य नै गरिएको थियो ।
