युवा जनशक्तिको पलायन
युवा जनशक्ति पलायन नेपालको विकास, प्रगति र उत्थानका लागि अत्यन्त ठूलो बाधाको रुपमा देखिँदै छ । युवा भन्नाले देशको १२ देखि ४० वर्ष उमेर समूहको जनसंख्या पर्दछ । नेपालमा यो उमेर समूहले कूल जनसंख्याको ४० प्रतिशत भाग ओगटेको विभिन्न तथ्यांकहरुले देखाउँछन् । नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रत्येक दिन दुई हजार दुई सयदेखि दुई हजार पाँच सय नेपालीहरु विदेशतिर उड्छन् । त्यसरी उड्नेहरुमा अधिकांश नेपाली नागरिक यही युवा समूहका पर्दछन् । यो देशका एकथरी युवायुवतीहरु साउदी अरब, कतार, मलेसिया, दुबई, कुवेत, जापान, कोरिया आदि मुलुकको श्रम बजारमा मजदुरी गर्न जान्छन् भने अर्कोथरी युवायुवतीहरु अमेरिका, क्यानडा, अष्टे«लियालगायत युरोपका कतिपय मुलुकहरुमा अध्ययन भिसामा जाने गर्दछन् ।
प्रत्येक वर्ष एक हजार दुई सयदेखि एक हजार चार सय श्रम गर्न गएका युवायुवतीहरुको विदेशमा मृत्यु हुन्छ । पैसा कमाएर आफ्नो घरपरिवारको जीवन पद्धति बदल्ने सपना बोकेर विदेश पलायन भएको वा भविष्य खोज्न हिँडेको युवा लाश बनेर देशभित्र फर्किन्छ । वर्षेनी यति ठूलो मात्रामा विदेशमा ऊर्जाशील नेपाली युवाहरुको मृत्यु मुलुकका लागि सानो क्षति होइन । यसरी नेपालीहरुको बढी मृत्यु हुने मुलुकमा साउदी अरब, कतार, मलेसिया आदि मुलुकहरु पर्दछन् । अध्ययन भिसामा विदेश जाने युवायुवतीहरुमा पनि अधिकांशको पढाइभन्दा पनि पैसा कमाउने सपना नै प्राथमिकताको सूचीमा पर्छ । त्यसैले नेपाली युवायुवतीहरु अध्ययनका लागि गए पनि तिनीहरु पनि अमेरिका, युरोप र अष्ट्रेलियाको श्रम बजारमा नै काम गरिरहेका हुन्छन् । अध्ययन भिसामा गएका कमैले मात्र विदेशमा उच्च शिक्षा हासिल गरेको देखिन्छ ।
अर्को चिन्ताको विषय, युरोप र अमेरिकामा उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरु प्रथमतः नेपाल फर्किदैनन् र नेपाल फर्के पनि नेपाल सरकारले तिनीहरुको शैक्षिक दक्षता र क्षमता अनुरुपको रोजगारी प्रदान गर्न सक्दैन । त्यसैले शिक्षित र दक्ष युवा जनशक्तिले आफ्नो भविष्य विदेशमै खोजिरहेको हुन्छ । हाम्रो दक्षिणतिरको छिमेकी मुलुक भारतमा रोजगारीका निमित्त ओर्लने नेपाली जनताको संख्याको त लेखाजोखा नै छैन । नेपाल प्रकृतिले अनगिन्ती बरदान दिएको सम्भावनाहरुको खानी भएको सुन्दर देश हो । यो देशलाई सकारात्मक संक्रमणको दिशामा अगाडि बढाउन यसबाटै समाधान खोज्नुपर्दछ ।