२०८१, २३ भाद्र आईतवार

पहिरोले सयौं सवारी साधन अलपत्र

जुम्ला, असार २२:  अविरल वर्षासँगै कर्णाली राजमार्गको कालिकोट र दैलेख खण्डमा पहिरो गएपछि सयौं सवारीसाधन अलपत्र परेका छन् । सुर्खेत, नेपालगञ्जदेखि कालिकोट, जुम्ला र मुगु आउने अनि कालिकोट, जुम्ला र मुगुदेखि सुर्खेत, नेपालगञ्ज छुटेका सयौं सवारी साधनहरु अलपत्र परेका हुन् ।

पहिरोले बीच बाटोमै सवारी साधन रोकिएपछि यात्रुहरुले सास्ती पाइरहेका छन् । अधिकांश यात्रुहरु हिँडेर पहिरो क्षेत्र पार गर्ने अवस्थामा रहेको र कैयन यात्रुहरु गन्तव्यमै पुग्न नपाई फर्किने गरेको प्रहरी नायब उपरीक्षक अर्जुन केसीले जानकारी दिए । उनका अनुसार वर्षेनी कर्णाली राजमार्गमा पहिरोले सास्ती दिने गरेको छ ।

वर्षेनी सामान्य वर्षा हुनेबित्तिकै सडकमा पहिरो जाने भएकोले कर्णालीवासी आजित छन् । अविरल वर्षासँगै सडकमा पहिरो जान थालेपछि कर्णालीमा दैनिक उपभोग्य वस्तुहरुमा कालोबाजारी हुन सक्ने अनुमान गरिएको छ । पहिरो जानेबित्तिकै पहिरो पन्छाउन मेसिनको व्यवस्थापन गर्नुपर्ने स्थानीय जयबहादुर केसीले बताए । उनले भने, ‘‘अहिले पहिरो गएको घण्टौ बित्दा पनि मेसिन ल्याउन स किने अवस्था छैन । अ ब सरकारले हरेक वर्ष कालिकोट खण्डको झण्डै आधा दर्जन स्थानमा डोजरहरु राख्नुपर्ने हुन्छ ।’’

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णालीका ६ जिल्ला रेड अलर्टमा रहेका छन् ।जाजरकोट, दैलेख, रुकुमपश्चिम, कालिकोट, हुम्ला र जुम्ला रेड अलर्टमा रहेका हुन् ।

देशका धेरै स्थानमा लगातार पानी परिरहेकाले बाढी, पहिरो, डुबान र बाटो बन्द हुने समस्या देखिएको भन्दै कर्णाली प्रदेश सरकारले सकेसम्म मनसुनको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ । यसका लागि १०३ मा फोन गर्न, बाढी र मौसम सम्बन्धी जानकारी लिन १४५५ र उद्धारका लागि ११४९ मा फोन गर्न सुझाव दिएको छ ।

सडक डिभिजन कार्यालय, जुम्लाले कालीकोटको हुल्म बजार नजिक ठूल्ठुूा बोल्डर आई पूर्ण रुपमा सडक अवरुद्ध भएको र गगने खोला, झाम्ला खोलासहित विभिन्न स्थानहरुमा लेदो बगेर, पहिरो झरेर सडक अवरुद्ध भएको जानकारी प्राप्त भएको जनाएको छ । उक्त स्थानहरुमा सडक सञ्चालन गर्नका लागि ह्वील लोडर र एक्स्काभेटर परिचालित भइरहेका छन्