२०८१, २८ फाल्गुन बुधबार

पत्रकारलाई जाजरकोट प्रवेशमा रोक लगाउनु प्रेसमाथिको ठाडो हस्तक्षेपः महासंघ

सुर्खेत, २३ जेठ ।
नेपाल पत्रकार महास.घ कर्णाली प्रदेशले रुकम र जाजरकोटमा जेठ १० गते भएको घटनाका बारेमा सत्य तथ्य सूचना संकलन गर्न भन्दै सुर्खेतबाट गएका दुइ जना पत्रकारलाई फर्काउनु प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप भएको बताएको छ । महासंघका महासचिव दिपेन्द्र शर्माद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका कोषाध्यक्ष टेकेन्द्र विश्वकर्मा र दैलेख शाखाका साधारण सदस्य खगेन्द्र सुनारलाई मिति २०७७ जेठ २२ गते समाचार संकलनको लागि जाजरकोट जाने क्रममा सल्यानको बालुवासंग्राहीमा प्रहरीले रोकेर फिर्ता गरेको घटनाप्रति हाम्रो गंभीर ध्यानाकर्षण भएको छ । दुबैजना पत्रकार रुकुम घटनाको बारेमा समाचार संकलन र अध्ययनको लागि दलित पत्रकार संघका पदाधिकारी सम्मिलित केन्द्रीय टोलीसँग त्यतातर्फ जाँदै हुनुहुन्थ्यो । सूचना विभागले जारी गरेको प्रेस पास देखाउँदा देखाउँदै माथिको आदेश छ भन्दै रोक्नु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो ।’ विज्ञप्तीमा थप उल्लेख छ, ‘यो कार्यको नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति निन्दा गर्दै आगामी दिनमा पत्रकारमाथि यस्तो व्यवहार नगर्न सचेत गराउन चाहन्छ । कोरोना प्रकोप र लकडाउनको यस अवधिमा पत्रकारलाई निर्वाध रुपमा समाचार संकलन र आवतजावतको वातावरण मिलाउन महासंघ सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।’