सल्यानमा उत्पादित अलैंचीले बजार नपाउँदा विरुवा उखेल्दै फाल्दै किसान
इन्द्र बुढाथोकी
सल्यान, २३ जेष्ठ ।
सल्यानमा लगाइएको अलैची र भुई स्याउले बजार नपाउदा किसान मारमा परेका छन् । उत्पादित अलैंची र भुई स्याउ बिक्री नै नभएपछि अलैंची किसान निराश भएका हुन । बनगाड कुपिण्डे नगरपालिका वडा न ६ काराकोट्को हिलेमा लगाएको अलैंचीले बजार नपाउँदा किसान समस्यामा परेका हुन । विगत चार वर्ष देखि यहाँका किसानले अलैंचि खेति गरिरहेका छन् । बनगाड कुपिण्डे नगरपालिका वडा न ६ का टोप बहादुर पुनले विगत ४ वर्ष देखि आफ्नो १ रोपनी जग्गामा लगाएको अलैंची खेतिले बजार नपाउँदा समस्या भएको बताए ।
‘रेडियोबाट कृषि कार्यक्रम सुनेर बिगत ४ वर्ष पहिले देखि कृषि खेती गर्दै आएको र १८ सयमा बिक्रि हुन्छ भनी सुनेको थिएँ तर अहिले बारीमा कुहिएको छ ।’ उनले भने, ‘नगदे बालीको रुपमा रहेको अलैंचीलाई मुख्य व्यवसाय बनाउने सोचमा थिए । सोचे जस्तो नभएपछि रोपेका अलैचीका विरुवाहरु उखेलेर फालिसके ।’
भुई स्याउले पनि बजार पाउन नसकेको उनको भनाई छ । बारीमा लगाएको भुई स्याउ बिक्री नभए पछि उखेलेर फालेको समेत उनको भनाई छ । भुई स्याउ रक्तचाप, मधुमेह लगाएत विभिन्न प्रकारका रोगहरु सन्चो हुने भन्ने सुनेर लगाएको तर बारिमै कुहिने अवस्था आउदा केही विरुवा उखेलेर फालेको उनले बताए ।