अत्याधुनिक प्रविधि राडारको मन्त्री पुनद्वारा उदघाटन
सुर्खेत।
उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले मंगलबार रातानांग्लामा अत्याधुनिक मौसमी सूचना प्रणालीको शिलान्यास गरेका छन् । मुलुकको मौसमी सूचना प्रणालीलाई विश्वस्तरको बनाउने लक्ष्यसहित जल तथा मौसम विज्ञान विभागले सुर्खेतमा स्थापना गरेको मौसमी राडारको उदघाटन गरेका हुन । मौसम विभागका अनुसार नेपालमा पहिलोपटक प्रयोगमा ल्याइएको राडार मौसमको पूर्व सूचना दिने अहिलेसम्मकै आधुनिक प्रविधि हो ।
मन्त्री पुनका स्वकीय सचिव सन्तोष पुनले जल तथा मौसम विज्ञान विभागले सुर्खेतमा स्थापना गरेको मौसमी राडार उदघाटनको तस्बिर सेयर गर्दै भनेका छन, ‘नेपालमा पहिलोटक प्रयोगमा ल्याइएको यो राडार मौसमको पूर्व सूचना दिने अहिलेसम्मै आधुनिक प्रविधि हो ।’ राडारबाट मौसमसम्बन्धी समयमै सही सूचना सहज रुपमा प्राप्त हुने र यसले मुलुकको उड्डयन क्षेत्रलाई सुरक्षित तथा प्राकृतिक प्रकोप( बाढी, पहिरो आदि घटना न्यूनीकरण गर्न सहयोग पुग्ने उनको भनाइ छ ।
यसले पानी पर्छ कि पर्दैन र्पयो भने कति ठूलो पर्छ, असिना पर्छ कि पर्दैन, हुरीबतास, चक्रवात् आउँछ कि आउँदै भन्ने कुराको पहिल्यै जानकारी दिनेछ । हाल अनुमानित मौसमी विश्लेषण हुँदै आएकामा राडारबाट वास्तविक सूचना पाउन सकिनेछ ।
यो नेपालमा पहिलोपटक भित्राइएको प्रविधि हो यसलाई पूर्ण प्रयोगमा ल्याउन अझै थुप्रै अनुसन्धान र अभ्यास आवश्यक छ ।
मौसमको पूर्वसूचना यसरी दिन्छ राडारले
विभागकी प्रवक्ता श्रेष्ठका अनुसार राडारले आकासमा वायुमण्डल वरिपरि घुमेर तस्बिर खिच्छ । पहाडको उच्च भेगमा राखिने राडारले नेपालको वायुमण्डलको सबै भूभागमा वास्तविक समयमा तस्बिर खिचेर पठाउँछ । त्यस आधारमा वायुमण्डलमा कस्तो खालको बादल छ? पानी, असिना, हिमपात पार्ने बादल हो कि होइन, कति परेको छ र कति समयदेखि त्यो बादल छ, भनेर थाहा पाउन सकिन्छ ।
प्रवक्ता श्रेष्ठका अनुसार राडारले वास्तविक अनुमान गर्छ । यसले कुनै पूर्वानुमान नगरी जे देखिन्छ, त्यही बताउँछ । उदाहरणका लागि कुनै बादल बनिरहेको छ भने त्यो बादलभित्र के छ, पानी, हिउँका कस्ता कण छन् । असिना पर्ने बादल हो कि त्यो सूचना दिन्छ । त्यसका आधारमा मौसम विभागले केही घण्टा पहिले नै यो ठाउँमा बादल देखिएको छ र यतिखेर पानी पर्छ भनेर सूचना दिन्छ ।
सुर्खेतमा राखिएको राडार नेपालको पश्चिमी क्षेत्रको मौसमी जानकारी पाउनाका लागि हो । यसैगरी मध्य क्षेत्रका लागि पाल्पा तथा पूर्वी क्षेत्रका लागि उदयपुरमा पनि मौसमी राडार राख्ने तयारी भइरहेको छ ।
त्यसका लागि अहिले सामान ल्याउने क्रम चलिरहेको छ । यो अलि महँगो खालको प्रविधि, भौतिक पूर्वाधारहरू पनि तयारी गर्नुपर्ने हुन्छ । तीनवटै क्षेत्रमा राडार सञ्चालन गर्न अझै एक वर्ष जति लाग्ने मन्त्रालयको अनुमान छ । अहिलेसम्म करिब ६० करोड खर्च भइसकेको मन्त्रालयको भनाई छ ।
