२०८३, १७ असार बुधबार

बालबालिकाको सवालमा सरकार गम्भीरः मन्त्री रावल

सुर्खेत ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले प्रदेश सरकार बालबालिकाका सवालमा प्रदेश सरकार गम्भिर रहेको बताए । ‘सरकार एक्लैले बालबालिकाको उत्थानका लागि बजेटको व्यवस्था गरेको छ । विभिन्न पोषण सम्वन्धी कामहरु गर्ने गरि अघि बढेको छ ।’ उनले भने, ‘अनाथ, सडक बालबालिकाका लागि पनि विभिन्न कामहरु गरिरहेका छौं ।’ यद्यपी बालबालिकाको पक्षमा सरकार एक्लैले मात्रै सबैथोक गर्न नसक्ने बताउँदै मन्त्री रावलले सबैको सहकार्यको आवश्यकता रहेको बताए ।
कर्णालीका १० ओटै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गरिएको बताउँदै महिला, ज्येष्ठ नागरिक तथा बालबालिकाका लागि प्रदेश सरकारले काम गर्न सहज हुने उनको भनाई थियो । बालबालिकाको क्षेत्रमा राम्रो काम गरेको बताउँदै मन्त्री रावलले एसओएस बालग्रामको प्रशंसासमेत गरे ।
यसैबीच बालअधिकार र संरक्षणका सवाललाई लिएर सरोकारवालाहरुले कर्णाली प्रदेश सरकारलाई २३ बुदे ध्यानाकर्षण पत्र बुझाएका छन । मंगलबार मन्त्रालयमै सामाजिक विकास मन्त्री दल रावल समक्ष प्रदेश स्तरमा बालअधिकारका निम्ती काम गर्ने १७ ओटा सामाजिक संघ संस्थाले ज्ञापन पत्र पेश गरेका हुन ।
बालबालिकामाथि हुने विभिन्न बिभेद, बालविवाह, छाउपडी, बालश्रम, लागुऔषध, शारीरिक तथा मानसिक सजाय जस्ता सवालमा गम्भिर हुन प्रदेश सरकारको ध्यानाकर्षण गरिएको छ ।
सडक आश्रित बालबालिका, कानुनको विभेदमा परेका बालबालिका, बाल अधिकार संरक्षण र प्रबद्र्घनकालागि नीति, कानुन, ऐन, निर्माण गर्नु पर्ने माग गरिएको छ ।
समाज जागरण केन्द्र स्याक नेपाल सुर्खेत, ईन्सेक सर्खेत, एभरेष्ट क्लव दैलेख, रुकुमेली समाज रुकुम, दलित विकास समाज सल्यान, पहाडी क्षेत्र विकास जाजरकोट, आत्म सम्मानका लागि सहकार्य क्याड जुम्ला आदि संस्था संगठित समाज संजालले सामुहिक ज्ञापनपत्र मन्त्री रावललाई बुझाएका थिए ।