२०८३, १७ असार बुधबार

‘कि पैसा फिर्ता देउ, कि पसल देऊ’


कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ६ महिना अघि निर्माण सम्पन्न भइसकेको सिटी बसपार्कमा पसल आफुले पाउनुपर्ने भन्दै पहिलेका पसल सञ्चालकले विवाद सुरु गरेका छन् । बसपार्क टोल विकास संस्थाले मंगलबार पत्रकार सम्मेलन गर्दै उनीहरुले आफूबाट नगरपालिकाले ५४ लाख रुपैंया लिएको बताउँदै पूर्व सहमति अनुसार पसल आफैंले पाउनुपर्ने माग गरेका हुन । वीरेन्द्रनगर नगरपालिकाले टेन्डर आव्हानको अन्तिम तयारी गरिरहेको बेला समिति आन्दोलनमा उत्रिएको छ ।
बसपार्क क्षेत्रमा लामो समय देखि भाडा तिरेर व्यवसाय गर्दै आएको र व्यवसायिकै पहलमा वसपार्क निर्माण प्रक्रिया अघि वढेको अध्यक्ष इन्द्रजीत थापाले बताए ।
तर नगरपालिकाले २०६८ सालमा नगरपालिका, सरोकारवालासँग गरिएका निर्णय र गतिविधिलाई वेवास्ता गरेको तथा नगरपालिकाले एकलौटी रुपमा बसपार्क संचालन गर्ने तयारी गरेपछि आफूहरु यो निर्णयमा पुगेको उनको भनाई थियो । २०६८ अषाढ ३ गतेको निर्णयअनुसार व्यावसायीहरुलाई पहिलो प्राथमिकता दिन माग गरेको छ ।
कटिङ फिटिङ, सतह ढल निर्माण लगाएतका काममा ५४ जना व्यवसायिको योगदान रहेकोले तर हाल आएर नगरले प्राथमिकता नदिएको उनिहरुको भनाई थियो ।
निर्माण प्रक्रियामा सहयोग गर्ने र सृचीकृत व्यावसायीलाई पहिलो प्राथमिकता दिने भन्ने निर्णय कार्यान्वयन नगरेको बताएका हुन ।
साथै व्यावसायीहरुले आफुहरुवाट वसपार्क निर्माण का क्रममा लागत ५४ लाख ३५ हजार ६ सय ७५ रुपैया फिर्ता गर्न समेत माग गरेका अडान अघि सारेका छन ।
निर्माण सम्पन्न बसपार्क छिटो संचालन गर्नुपर्ने, नगरपालिकाले निर्माण गरेको कार्यविधि संशोधन हुनुपर्ने, यस अघि नगरले गरेका निर्णय यथाशिघ्र कार्यान्वयन गर्नुपर्ने, व्यावसायीहरुलाई प्राथमिकता दिई आन्तरिक प्रतिष्पर्धावाट टेन्डर आव्हान गरिनुपर्ने, सुचिकृत व्यावसायीहरुलाई वसपार्क क्षेत्रका उपभोक्ता मानी व्यवस्थापन गरिनुपर्ने, टेन्डर आव्हानमा आन्तरिक घुसपैठ बन्द गरिनुपर्ने, लगानी फिर्ता गरिनुपर्ने, नयाँ व्यवसायीले प्रवेश पाउनुपर्ने लगाएत माग राखेका छन ।

समितिले माग सम्वोधन नभए चरण वद्घ आन्दोलनको घोषणा पनि गरेको छ ।

नगरपालिकालाई ज्ञापन पत्र बुझाउने, धर्ना दिने, विरोध जुलुस निकाल्ने, यातायात बन्द, हड्ताल, वडा तथा नगरको काम काज बन्द गर्ने, र माग सम्वोधन नभए बसपार्कमा ताला बन्दी गर्ने लगायत आन्दोलनका कार्यक्रम रहेको बसपार्क टोल विकास समितिका अध्यक्ष ईन्द्र वहादुर थापाको भनाई छ । बसपार्क टोल विकास समितिको आन्दोलनमा सुर्खेत उद्योग बाणिज्य संघले पनि ऐक्यवद्घता जनाएको छ ।

संघका महासचिव लक्ष्मण कँडेलले लागत रकम ५४ लाख वा ५४ ओटा सटर पाउनुपर्ने बताए । ‘व्यावसायिहरु नगरपालिकाले तोकेको मुल्यमा सटर लिन तयार रहेका छन् ।’ उनले भने, ‘चुल्ठेमुन्द्रेलाई दिन शटर दिन हुँदैन । यसमा सुर्खेत उद्योग बाणिज्य संघको पुर्ण समर्थन छ ।’

कानून अनुसार अघि बढछौंः नगरप्रमुख

यता, वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले भने ५४ लाख कहिले र कसलाई दिइएको हो आफूलाई जानकारी नभएको बताए । उनले नगरपालिकाको नगर कार्यपालिकाले बसवपार्क सञ्चालन सम्वन्धि कार्यविधि पारीत गरिसकेको बताउँदै उक्त कार्यविधि अनुसार नै अघि बढने जानकारी दिए ।