२०८१, २१ बैशाख शुक्रबार

कर्मचारी नियन्त्रणमा लिएर गाउँपालिका कार्यालय स्थापना

रुकुम, चैत्र ६ । तकसेरावासीले कार्यकारी अधिकृतसहितको कर्मचारी टोलीलाई नियन्त्रणमा लिएर पुथा उत्तरगंगा गाउँपालिकाको कार्यालय स्थापना गरेका छन् ।

राजपत्रमा गाउँपालिकाको केन्द्र तत्कालीन कोल गाविसको कार्यालय तोकिएको छ । सो स्थानमा कार्यालय स्थापना गर्न पुगेको कार्यकारी अधिकृत तिलक रावतसहितको टोलीलाई तकसेरावासीले नियन्त्रणमा लिएर तकसेरामा कार्यालय स्थापना गर्न लगाएका हुन् । तकसेरावासीले भने कर्मचारीलाई आफूहरूले कुनै जबर्जस्ती नगरेको बताएका छन् । तकसेरा गाविस सरोकार समितिका संयोजक जुद्ध बुढाले आफूहरूले कर्मचारीलाई नियन्त्रणमा लिएर कार्यालय उद्घाटन गर्न नलगाएको दाबी गरे ।

जिल्लामा यसअघि भएको सर्वदलीय निर्णयअनुसार तकसेरामा कार्यालय स्थापना गरिएको उनले जानकारी दिए । गत १० माघमा तत्कालीन जिल्ला विकास समितिमा भएको सर्वदलीय बैठकले तकसेरामा गाउँपालिकाको केन्द्र तोक्ने निर्णय भएको र सोहीअनुसार आफूहरू अगाडि बढेको उनको दाबी छ ।

पुथा उत्तरगंगा गाउँपालिकाको कार्यालय कोल गाविसमा स्थापना गर्न गएको जिल्लास्तरीय टोलीका केही सदस्य भने भागेर सदरमुकाम पुगेका छन् । कार्यकारी अधिकृतसँगै गएका जिल्ला समन्वय समितिका कार्यक्रम तथा सूचना अधिकृत चिन्तामणि दाहालसहितको टोली सदरमुकाम फर्किएको हो । तकसेरावासीले जबर्जस्ती गर्न खोजेपछि आफूहरू भागेर सदरमुकाम आएको टोलीले जवाफ दिएको जिल्ला समन्वय समितिका संयोजक नरेन्द्रकुमार रानाले जानकारी दिए ।

गाविसवासीले जबर्जस्ती कार्यालय स्थापना गर्न लगाए पनि त्यसले वैधानिकता नपाउने जिल्ला समन्वय समितिले जनाएको छ । तत्कालीन कोल गाविसमा कार्यालय स्थापना हुने जिल्ला समन्वय समितिका संयोजक रानाले बताए । कर्मचारीलाई नियन्त्रणमा लिएर स्थापना गरिएको कार्यालयले कुनै पनि हालतमा मान्यता पाउन नसक्ने उनको भनाइ छ ।

जिल्ला समन्वय समितिका संयोजक रानाले सर्वदलीय बैठकले तकसेरामा गाउँपालिकाको केन्द्र तोक्ने निर्णय नभएको दाबी गरे । तकसेरावासीले सबै मापदण्ड पूरा भएकाले तकसेरामा केन्द्र स्थापना हुनुपर्ने माग गर्दै आन्दोलन गरेपछि यसबारे आयोगमा जानकारी गराउने सहमति भएको उनले बताए । आयोगले तत्कालका लागि कोलमा नै कार्यालय राख्न भनेको र सोहीअनुसार राजपत्रमा प्रकाशित भइसकेकाले पुथा उत्तरगंगा गाउँपालिकाको कार्यालय कोलमा नै रहने उनको भनाइ छ ।