२०८१, २१ बैशाख शुक्रबार

काँग्रेसको त कन्त विजोग छ : केपी ओली, चुनाव नगराउने भए राजिनामा दिए हुन्छ : नेपाल

सुर्खेत, चैत्र ६ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसको कन्तविजोग भएको बताएका छन् । पार्टीको मेची–महाकाली अभियानको सन्देश सम्प्रेषणका लागि आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

नेपाली काँग्रेसका आफै कन्तविजोग भएको भन्दै अध्यक्ष ओलीले अब जनताले नेपाली काँग्रेससंग अपेक्षा गर्नुपर्ने केही नभएको समेत बताए ।

अहिले काँग्रेसले करोड जनतालाई नदेख्ने तर चार जना भारतीय (इण्यिन) हरुलाई देख्ने गरेको बताए । अध्यक्ष ओलीले मधेसमा मधेसी मोर्चा भन्दै चार जना उफ्रिने गरेको र काँग्रेसले तिनै चार जनालाई मात्रै देख्ने गरेको बताए । उनले मधेसी मोर्चाका नेतालाई घुमाउरो तरिकाले भारतीयहरुको संज्ञा दिए ।

‘‘मधेसी मोर्चा भन्दै चार जना उफ्रिन्छन,’ उनले भने–‘काँग्रेसले तिनै चार जना भारतीयहरुलाई देख्न, करोड नेपाली देख्दैन ।’’ सम्बोधनका क्रममा उनले काँग्रेसले प्रष्टसंग आँखा देख्न छोडेको भन्दै चस्माको किनिदिनुपर्ने अवस्था आएको व्यङ्ग्य गरे ।

आफ्नो सम्बोधनका क्रममा माओवादी शब्द नै ननिकालेका ओलीले काँग्रेसले धेरैपटक सरकारमा गएको तर केही गर्न नसकेको बताए । ‘‘नेपालको इतिहासमा काँग्रेस धेरैपटक सरकारमा गयो’ उनले भने–‘तर बादरका हातमा नरिवल ।’’

अर्काे फरक प्रसंगमा अध्यक्ष ओलीले अहिले एमालेको जनलहर देखेर चुनाव गर्न डराएको भन्दै सरकारलाई चुनाव गराउने स्थिति नभए एमालेले कडा कदम चाल्ने चेतावनी दिए । अध्यक्ष ओलीले अब अर्काे पटकदेखि सरकारमा जाने पालो एमाले बाहेक कसैको नआउने दावी समेत गरे ।

सोही कार्यक्रममा नेकपा एमालेका बरिष्ट नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई चुनाव गराउने आँट नभए राजिनामा दिन चेतावनी दिएकाछन् । ‘‘चुनाव गराउने आँट छैन भने राजिनामा दिएहुन्छ,’ उनले भने–‘चुनाव नगराउने भए किन सरकारमा बसिरहने ?’’
सिंगो देशलाई जोड्न एमालेले मेची महाकाली अभियान सुरु गरेको भन्दै उनले एमालेको जनलहर देखेर काँग्रेस र माओवादी केन्द्रले अभियान दिन धम्क्याको भन्दै आफूहरु अभियानबाट पछि नहटेको बताए ।

नेता नेपालले अभियानको अबधिमा आफूहरुले ५० लाख जनता माझ पुगेको दावी गरे बताए । उनले समृद्धिको योजना एमालेसंग भएको भन्दै देशलाई समृद्ध बनाउनका लागि चुनावमा बहुमत नल्याएसम्म एमाले आराम गरेर नबस्ने बताए ।

प्रदेश नं. ६ का पार्टीका संयोजक युवराज ज्ञावलीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका महासचिव इश्वर पोख्रेल लगायतका अन्य नेताहरुले पनि सम्बोधन गरेका थिए ।

सोही कार्यक्रममा दैलेखबाट नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य एमालेमा प्रवेश गरेकाछन् । सभामा प्रदेश नं. ६ का सबै जिल्लाहरुबाट कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।