२०८१, २१ बैशाख शुक्रबार

विमानस्थलमा हतियार खोस्ने एक व्यक्तिको सेनाको गोलीबाट मृत्यु

६ चैत, पेरिस (फ्रान्स) । पेरिसको अर्ली विमानस्थलमा सेनाको हतियार खोस्ने प्रयास गर्ने एक युवामाथि सेनाले प्रत्याक्रमण गर्दा आक्रमणकारीको मृत्यु भएको फ्रान्सको गृहमन्त्रालयले जनाएको छ ।

शनिबार विमानस्थलमा सैनिकको हतियार खोस्ने प्रयास गरेपछि विमानस्थलमा पुगेका हजारौँ हवाईयात्रु सुरक्षार्थ भागदौड गर्दा विमानस्थलको वातावरण त्रासदीपूर्ण देखिएको थियो भने केहीबेर विमानस्थलका गतिविधि अवरुद्ध बनेका थिए ।

घटनामा आक्रमणकारीको मृत्यु भए पनि अन्य कोही पनि घाइते नभएको विमानस्थल स्रोतले जनाएको छ ।

फ्रान्समा सन् २०१५ को जनवरीमा इस्लामिक जिहादी समूहद्वारा गराइएका शृङ्खलाबद्ध आक्रमणमा २३० जनाको मृत्यु भएपछि फ्रान्सले सुरक्षाकर्मीलाई उच्च सतर्क अवस्थामा विभिन्न स्थानमा तैनाथ गर्दै आएको छ ।

फ्रान्समा आगामी अफ्रिल २३ मा राष्ट्रपतिका लागि पहिलो प्रतिस्पर्धा हुँदैछ र यहाँका मतदातामा मतदानमा सहभागी हुने क्रममा सुरक्षाको त्रास कायम रहँदै आएको छ ।

बेलायती राजकुमार विलियम र उनकी श्रीमती केटको फ्रान्सका लागि भएको औपचारिक भ्रमणको दोस्रो दिन भएको यस आक्रमण प्रयासले पेरिसवासीलाई यसवर्ष फेरि तर्साएको छ ।

फ्रान्सका गृहमन्त्री ब्रनोले रेक्सले बताएअनुसार विमानस्थलमा शनिबार मारिएका व्यक्ति पेरिसको उत्तरी क्षेत्रमा प्रहरीमाथि गरेको आक्रमणसँग आबद्ध रहेको बताइएको छ । प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको थियो ।

उक्त व्यक्तिले सेनाका एक जवानसँगबाट हतियार खोसी एक पसलमा लुकिरहेका बेला सुरक्षाकर्मीद्वारा गरिएको कारबाहीमा उसको मृत्यु भएको हो । रासस/एएफपी