२०८१, १९ बैशाख बुधबार

मगर महाधिवेशन  :विगत देखि वर्तमान सम्म

सन्जय सिन्जाली मगर
नेपाल मगर संघको स्थापना २००७ को क्रान्तिपछि ०१२ सालमा काठमाडौंमा भीमप्रसाद बुढाथोकी मगरको अध्यक्षतामा मगर समाज सुधार संघ गठन भयो । प्रमुख सचिवमा काठमाडौंका ढलक प्रताप राना मगर, सचिव पदमा पद्म सिंह थापा मगर, सदस्यमा देवान सिंह थापा मगर र अन्य सदस्यहरु चयन भएका थिए । गुल्मी जिल्लाको भार्सेमा २०१४ साल फागुन २७, २८ र २९ गतेमा मगरहरुको पहिलो पश्चिमाञ्चल महासम्मेलन सम्पन्न भयो । सो सम्मेलनका सभापतित्व पूर्व बडाहाकिम कप्तान गिरी प्रसाद बुढाथोकी मगरले गर्नु भएको थियो । सो सम्मेलनमा “मगर समाज सुधार संघ’’ केन्द्रीय कार्यालय काठमाडौंबाट पठाइएको “शुभकामना’’ पत्र पढेर सुनाइएको थियो ।

शोधमाला २०६८, पृष्ठ १२, “मगर अनुसन्धान केन्द्र, काठमाण्डौ ।
“प्रथम राष्ट्रिय महाधिवेशन” २०३९ नेपाल अधिराज्यका विभिन्न जिल्लाहरुका ९३२ वटा भन्दा बढी मगर संघ संस्थाहरु प्रतिनिधि एवं मगर अगुवाहरुको संलग्नता र सहभागितामा फागुण १५ र १६ गतेमा “नेपाल लाङघाली परिवार संघ” अर्थात “नेपाल मगर संघ” को प्रथम राष्ट्रिय महाधिवेशन तथा तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भयो ।

प्रथम एवं संस्थापक अध्यक्ष हेमबहादुर पुन मगर सम्मेलन र महाधिवेशनका अध्यक्ष थिए ।२०४८ मा नेपाल लाङघाली परिवार संघ ” को चौथो अधिवेशन आदिवासी जनजाती तथा मगर समुदायका जनप्रिय एवं जुझारु नेता गोरेबहादुर खपाङ्गी मगरको सक्षम नेतृत्वमा सम्पन्न भयो । सो महाधिवेशनले सर्वसम्मतिबाट “ नेपाल लाङघाली परिवार संघ ” को नाम परिवर्तन गरेर “ नेपाल मगर संघ ” राख्ने निर्णय भयो । पूर्व अध्यक्ष गोरेबहादुर खपाङ्गीको कार्यकालमा सम्पूर्ण आदिवासी जनजाति को पहिचान एवं मौलिक हक अधिकारको आन्दोलन शिखरमा पुगेको थियो ।

“आठौं अधिवेशन” २०६० “नेपाल मगर संघ” का पूर्व अध्यक्ष क्या यम बहादुर बुढाथोकी मगरले संघको भौत्तिक पूर्वाधार एवं अन्तराष्ट्रिय सम्पर्क र समन्वयमा पुर्याएको योगदान उल्लेखनीय देखिन्छ । पूर्व अध्यक्ष झक बहादुर थापा मगरले २०६४ मा “मगरात राज्य” को स्थापनाको आन्दोलन शुरुवात पाल्पा तानसेनबाट गरेका थिए । नेपाल मगर संघको इतिहासमा पहिलो पटक २०६७, मंसिर २५ गते तत्कालिन रुकुम, रोल्पा, प्यूठान, पाल्पा, गुल्मी, अर्घाखाँची, बाग्लुङ्ग, म्याग्दी, जिल्लाहरूको पुरै भू–भाग र नवलपरासी, तनहुँ, गोरखा, स्याङ्जा, लमजुङ्ग, पर्वत, दाङ, सल्यान, डोल्पा जिल्लाहरूको आशिंक भू–भागलाई समेटेर ऐतिहासिक मगरात प्रदेश घोषणा भएको थियो । सो आन्दोलनलाई पूर्व अध्यक्ष महेन्द्र थापा मगरले वि सं २०६८ मा प्रचारात्मक आन्दोलन को सुरुवात चाहिँ गर्न भ्याए । यसरी मगर संघका पछिल्ला अध्यक्षहरु मा थप उर्जा स्व गोरेबहादुर खपाङ्गी मगर बाट अझ प्रभावकारी रुपमा अघि बढाउन हौसला थपिएको थियो ।

त्यस्तै ११औँ महाधिवेशन २०७७ सालसम्म आईपुग्दा “नेपाल मगर संघ” का अध्यक्ष नवीन रोका मगर सक्रियतामा विविध कार्यक्रम संचालन भएको पाउँछौं । विशेष गरी राहत, सामाजिक सुधार, मगरहरुको मौलिक हकअधिकार तथा “मगरात राज्य” प्राप्तीका लागि संघर्ष एवं प्रचारात्मक आन्दोलनको कार्यक्रमहरु केहि आशिंक रुपमा सुरुवात भने भएका थिए ।

मगर संघको इतिहासदेखि बर्तामनसम्म आईपुग्दा मगर संघको अस्तित्व र औचित्य के हो भन्ने कुरा भनि रहनु परेन । चौथो अधिवेशनबाट ४ कार्यकाल लगातार आदिवासी जनजाती तथा मगर समुदायका जनप्रिय एवं जुझारु नेता गोरे बहादुर खपाङ्गी मगरको परिकल्पनाबाट मगर समुदायको स्वाभिमान नेतृत्व चेतना स्तर आकशिएको थियो । गोरेबहादुर खपाङ्गी मगर समुदायलाई निद्राबाट जगाउन आफ्नो परिवारलाई त्याग्न खासै गाह्रो परेन । यसरी मगरको चेतना स्तिर त बढ्यो, तर त्यसको फाईदा केहि टाठाबाठाहरुले भरपुर प्रयोग गर्न सम्म जाने । हकहितकालागि स्थापित भएको नेपाल मगर संघ केन्द्र गोरेबहादुर खपाङ्गी मगरको ठुलो योगदान आजसम्मकै विरासत कायम छ । हामीले गोरेबहादुर खपाङ्गी मगर बारेमा लामो चर्चा गरिरहनु परेन ।

त्यसपछिको संघको नेतृत्वकर्ताले खपाङ्गी को जति राम्रो नेतृत्व दिन नसकेको यर्थाथ हो । तरपनि बिवादमा पर्ने काम चाँहि भएको थिएन । तर संघको दाङमा भएको १२औ महाधिबेशन भने अत्यान्त बिवादास्पद बन्न पुग्यो । किनभने त्यो महाधिबेशन संघको बिधान २०४९ अनुरुप गरिएको थिएन । पालिका तहका प्रतिनिधिहरु लाई महाधिबेशनमा प्रतिनिधि नदिनु र बिधानकै नभएको पदहरु बन्दसत्रमा भटाभट सिर्जना गरि पार्टीगत रुपमा भागबण्डा गर्ने जस्तो कार्य समेत महाधिबेशनको नाममा गरियो ।

विधान  विपरीत महाधिवेशन गरिएको भनि त्यसको विरुद्ध असन्तुष्ट पक्षहरु भने सिडिओ कार्यालय र उच्च अदालत सम्म पुगेका छन् भने सर्वोच्चमा समेत जाने कुरा सुनिएको छ । संघलाई मगरहरु को साझा सामाजिक रुपमा अगाडि बढाउन अहिलेको नेतृत्वकर्ताहरुले नसकेको अथवा नचाहेको स्पष्ट देखिएको छ । संघको नेतृत्वकर्ताले यसतर्फ उदासिनता देखाउनु प्रायत्पादक हुनसक्छ । बेलैमा  ध्यान पुगोस अबका दिन संघको नेतृत्वकर्ताहरुले मगरहरु लाई एकजुट बनाएर लैजाने, मगर संघलाई सकेसम्म संगठिनको रुपमा बनाएर अघि बढ्ने तर्फ ध्यान पुर्याएर कामकार्य गर्न भगवान बुद्धले मार्ग प्रास्त गरुन ।

सन्जय सिन्जाली मगर समसामयिक विषयमा सक्रिय रुपमा कलम चलाउाछन् ।