२०८१, १९ बैशाख बुधबार

वीरेन्द्रनगरमा योजनाबद्ध  गोली प्रहार गर्नेहरुलाई प्रहरी द्वारा सार्वजनिक

सुर्खेत । सुर्खेत  वीरेन्द्रनगर नगरपालिका-१ गैरी चोकमा योजनाबद्ध गोली प्रहार गर्नेहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । नेपाल तरुण दलका सदस्य विनोद गिरीलाई लक्षित गरेर गोली हान्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार सार्वजनिक गरेको हो ।
पकाउ पर्नेहरुमा कैलालीकाे गौरीगंगा नगरपालिका- २ का १८ वर्षीय ईन्द्र बिक, १८ वर्षीय भरतपुरली भुल, वीरेन्द्रनगर नगरपालिका- ४ का ३७ वर्षीय राजन गिरी र भारत उत्तर प्रदेश बिजनौर जिल्ला दादानगरगञ्ज जोसिपनका मोहल्लाका १९ वर्षीय रोहित राजपुत रहेका छन् ।

घटनामा संलग्न थप दुई जना फरार छन् । उनीहरुकाे खाेजी भइरहेकाे सुर्खेत प्रहरीले जनाएकाे छ ।

प्रहरीका गाेली प्रहार गर्ने योजनाअनुरुप गिरीबाहेक तीन जना फागुन ७ गते वीरेन्द्रनगर नगरपालिका-४ स्थित गणेश होटेलमा बास बसेका थिए ।

फरार दुई व्यक्तिले भे ५ प ६०६१ नम्बरको मोटरसाइकल उपलब्ध गराई पूर्वयोजनाअनुसार नेपालगञ्जदेखि सुर्खेत आएर गणेश होटलमा ३ जना सँगै बसेका थिए ।

एक जना शंकित व्यक्तिले प्रतिवादीहरुलाई विनोद गिरीको घर ठेगानालगायत सबै देखाइ चिनाइदिएको तथा होटलमा खाने व्यवस्था मिलाएको प्रहरीले बताएको छ ।

गएराति विनोद गिरीको गाडीलाई प्रतिवादीहरुको मोटरसाइकलले पिछा गरी वीरेन्द्रनगर नगरपालिका-१ स्थित गैरीचोकमा उनीमाथि १ राउण्ड गोली प्रहार गरेपश्चात उक्त गाडी र मोटरसाइकल एकापसमा ठक्कर खाइ दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

गोली प्रहार गर्ने भारतीय नागरिक राजपूत, मोटरसाइकल चालक विक, भुल र होटलमा बस्ने व्यवस्थापन गर्ने गिरीलाई नियन्त्रण लिएर सार्वजनिक गरेको हो ।

घटनाका बारे थप अनुसन्धान जारी रहेको र शंकितको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ