२०८३, १७ असार बुधबार

सुर्खेतको बावियौचारदेखी सुदूरपश्चिम प्रदेश जोड्ने बस सेवा सञ्चालन

सुर्खेत। सुर्खेतको बावियौचारदेखी सुदूरपश्चिम प्रदेशमा जोड्ने बस सेवा सञ्चालनमा आएको छ । पञ्चपुरी नगरपालिकादेखि सुदुरपश्चिम प्रदेशको कैलाली सम्म नियमित यातायातका साधनहरु शुक्रबारदेखी सञ्चालनमा आएका हुन् ।

कर्णाली नदिको कुईनेमा पुल निर्माण भएपनि लामो समयदेखि कैलाली सम्म गाडि सञ्चालन हुन सकेको थिएन । रुट परमिटको समस्याका कारण रोकिएको यातायात सेवा अबदेखि निरन्तर दैनिक ३ वटा गाडि सञ्चालनमा आउने यातायात समितिले जनाएको छ । कैलाली सम्म सिधा गाडी सञ्चालन भएपछि यात्रा गर्ने यात्रुहरु खुसी भएका छन् । नियमित यातायात सञ्चालन आएपछि सुदुरपश्चिमका कैलाली, कञ्चनपुर, बाके बर्दिया जान थप सहज हुनेछ भने ब्यापारी हरुका लागि सामान ढुवानी गर्न समेत सजिलो हुने भएको छ ।

साविक कर्णाली, भेरी अञ्चलको दैलेख र सुदूरपश्चिमका अछाम तथा बाजुराको हटारु मार्गको केन्द्र बावियाचौर हो । यहीँ बजारले जामु–कुइनेहुँदै लुम्बिनी प्रदेशको राजापुर र सुदूरपश्चिमको चिसापानीसम्म हटारु बाटोको पहिचान बनाएको थियो ।

हटारु बाटोमा विस्तारै सडक र भेरी तथा कर्णाली नदीमा पक्की पुल बनेपछि घटौं पैदलयात्रा गर्नुपर्ने बाध्यताको अन्त्य गरिदिएको हो । कर्णाली नदीमा पक्की पुल बनेपछि सुदूरपश्चिम प्रदेश जान सहज बनाइदिएको हो । पक्की पुल बनेसँगै बावियाचौर–चिसापानी सडक यात्रा सहज बनेको छ । कैलालीको मोहन्याल गाउँपालिकाको सोल्टासम्म कैलालीबाट दैनिक १५ वटा सार्वजनिक सवारी आउने गरेका थिए ।

तर दैनिक रुपमा सोल्टासम्म सवारी आएपनि सुर्खेत पश्चिमका नागरिकहरुले कुइनेबाट अर्को सवारी फेरेर बावियाचौर आउनु पर्ने बाध्यता थियो । सुदूरपश्चिम र सुर्खेतको बावियाचौरसम्म सिँधा यातायात सेवा सञ्चालन नहुँदा यात्रुहरुले सास्ती ब्यहोर्नु परेको थियो । रोजगारीका लागि भारत तथा सुदूरपश्चिम, बर्दिया र नेपालगञ्ज पुग्न यहाँका नागरिकहरुलाई सहज हुनेछ ।

सुर्खेतको बड्डीचौरहुँदै कोहलपुर–चिसापानीसम्मको करीब २०० किलोमिटर सडक ५२ किलोमिटरमा छोटिनेछ । छोटो दूरीको यातायातबाट साविक सुदूर र मध्यपश्चिमका सुर्खेत, कालिकोट, दैलेख, जुम्ला, हुम्ला, डोल्पा, मुगु, बाजुरा, अछामलगायत जिल्लाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।