२०८१, २१ बैशाख शुक्रबार

दैलेखमा ‘ठूलो ओख्ती’ खाएर एक जनाको मृत्यू

दैलेख  ।  ‘ठूलो ओख्ती’ नामले चिनिएको पहिचान नभएको विष खाएर एक जनाको मृत्यू भएको छ भने दुई जना बिरामी परेका छन् । भगवतीमाई गाउँपालिका–४ तुर्सूगाउँका २५ वर्षीय नर्तम बिकको बुधबार विहान मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज किशोर लम्सालले बताए ।

दुई दिन अघिदेखि ज्वरोले थला परेकाहरुलाई ज्वरो घटाउने भनी गएराति घरमै राखिएको ठूलो ओखती भन्ने गरिएको पहिचान नभएको विष खाएर नर्तमको ज्यानुसंगै अरु दुई जना ६१ वर्षका धने कामी र १२ वर्षीय बालक रमेश बिक स्वास्थ्य अवस्था गम्भीर भएको दैलेख अस्पतालका डा. निमेश भूसालले बताए ।

स्वास्थ्य अवस्था गम्भीर भएका दुई जनालाई दैलेख अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्काले बताए ।

यस्तै बुधबार विहान बनमा दाउरा काट्न गएका महाबु गाउँपालिका–१ खरिगैराका तीन जना महिला अरिंगालले टोकेर सख्त बिरामी परेका छन् । लोसे सामुदायिक बनमा दाउरा काट्दै गर्दा २५ वर्षीया मञ्जू सुनार, २४ वर्षीया सुनिता सुनार र २९ वर्षीया गंगा सुनारलाई अरिंगालले टोकेको हो ।

मञ्जूको दैलेख अस्पतालमा उपचार भइरहेको छ भने अरू दुई जना स्थानीय मेडिकलमा उपचार भइरहेको महाबु गाउँपालिका–१ का वडाध्यक्ष सर्वराज नेपालीले बताए ।