मुगुमा तीन दिनदेखि महिला बेपत्ता, हत्या भएको माइती पक्षको आरोप

सुुर्खेत: मुगुको खत्याड गाउँपालिका– ८ रिगागाउँकी २४ वर्षीया एक महिला तीन दिनदेखि बेपत्ता भएकी छिन् । खत्याड गाउँपालिका– ८ रिगागाउँकी २४ वर्षीया रमना गिरी कात्तिक २१ गतेदेखि आफ्नो घरबाटै बेपत्ता भएको उनको परिवारले जनाएको छ ।
बाजुरा जिल्ला बुढीनन्दा नगरपालिका– १ माइतीघर भएकी गिरीले पाँच वर्षअघि मुगुको खत्याड गाउँपालिका– ८ रिगा गाउँका २८ वर्षीय प्रेमलाल गिरीसँग विवाह गरेकी थिइन् ।
प्रेमलाल र रमनाका चार वर्षीय छोरा र तीन महिने छोरी छन् । यता रमनाका माइती पक्षले परिवारले हत्या गरेको आरोप लगाएका छन् । रमनाका मामा सिंहराज गिरीले आफ्नी भान्जीलाई २१ गते राति नै उनको पति र घरपरिवार मिलेर हत्या गरेको आरोप लागाए ।
रमनाका पतिले सोही राति घरपरिवारका सदस्यले खाना खाइरहेका वेला छोरी सुताउँछु भनेर घरको माथिल्लो तलामा गएकी रमना बेपत्ता भएको बताए । करिब दुई मिनेटपछि नै छोरी रोएको आवाज आएपछि कोठामा जाँदा आफूले श्रीमती नदेखेपछि गाउँमा खबर गरेको बताएका छन् ।
कात्तिक २२ मा खत्याड गाउँपालिका– ८ मा रहेको सुकाढिक प्रहरी चौकीमा बेपत्ता भएकी रमनाका माइती पक्षले उजुरी दिएका छन् । तीन दिनसम्म महिलाको अत्तोपत्तो नलागेपछि बेपत्ता नभई हत्या भएको भन्दै उनका माइती पक्षले रमानाका पति र उनका परिवारलाई कारबाही गर्न प्रहरी चौकीमा धर्ना दिएका छन् ।
घटनाको अनुसन्धान गर्न रमनाका पति प्रेमलाललाई सुकाढिक प्रहरी चौकीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए ।
