२०७९, १७ मंसिर शनिबार

तीन वर्षदेखि कर्णालीका उत्तरी नाका खुलेनन्

सुर्खेत : कोरोना महामारीका कारणले कर्णालीका चीनसँग जोडिएका उत्तरी नाका खुलेका छैनन् । कर्णालीका चीनसँग जोडिएका हिल्सा, नाक्चेलाग्ना नाका कोरोना महामारीका कारण देखाउँदै चीनले तीन वर्षदेखि उत्तरी नाका बन्द रहेको हो ।
कोरोना संक्रमण दर न्यून हुँदै पनि चीनले उत्तरी नाका अघोषित तरिकाले बन्द गरेको छ ।
उत्तरी नाका नखुल्दा चीनसँगको व्यापारमा कमी आएको र उत्तरी नाका खुलाउन पहल गर्न आवश्यक रहेको हुम्लाको चीनसँगको व्यापारमा कमी आएको उद्योग वाणिज्य महासंघ हुम्लामा अध्यक्ष नाम्ग्याल तामाङले बताए । ‘उत्तरी नाका नखुल्दा चीनसँगको नेपालको व्यापार घाटा भएको छ ।’ उनले भने,‘चीन र नेपाल सरकारले चासो नदेखाउँदा दुबै देशको व्यापार सम्बन्ध दुई वर्षदेखि हुन सकेको छैन् ।’
चीनको ताक्लाकोटमा नेपालीहरु रोजगारीमा जाने गरेको नाका नखुल्दा रोजगारीसमेत गुमेको अध्यक्ष तामाङले बताए । ‘यहाँका अंधिकास युवायुवती ताक्लाकोटमा रोजगारीका लागि जाने गरेका थिए ।’ उनले भने,‘उनीहरुको रोजगारीसमेत गुमेको छ ।’
सिमा नाका नखुल्दा कैलाश मानसरोवर जाने तिर्थ यात्रुहरु पनि तीन वर्षदेखि आउन नपाएका कारणले हुम्लाको पर्यटन क्षेत्रमा ठुलो असर परेको पर्यटन व्यवसायी लंक लामाले बताए । ‘कैलाश मानसरोवर जाने तिर्थालुका कारणले हुम्लामा पर्यटन क्षेत्रबाट राम्रो आम्दानी हुने गरेको थियो ।’ उनले भने,‘पर्यटन क्षेत्रबाट पाउने रोजगारी र आम्दानी दुबै गुमेको छ ।’
चीनमा हुम्लाबाट जडिबुटी निकासी हुने गरेरको त्यसबाट राम्रो आम्दानी गरेकोमा दुबै देशका अध्यागमन कार्यालय नखुलेका कारणले व्यापार घाटा भएको नाम्खा गाउँपालिका स्थानीय म्याग्बो तामाङले बताए । ‘नाका बन्दकै कारण तीन वर्षयता देशका सीमा क्षेत्रको स्थानीय प्रशासनबीच सीमा वार्तासमेत हुन सकेको छैन ।’ उनले भने,‘सीमा खुलाउनका लागि दुबै देशका सरकारी अधिकारीबीच छलफल हुन आवश्यक रहेको छ ।’
होटेल व्यवसायमा धरासायी
नेपाल र चीनको सीमा क्षेत्र हिल्सामा स्थापित होटेल तीन वर्ष देखि बन्द हुँदा व्यवसायीहरू मर्कामा परेका छन् । यहाँ रहेका दुई दर्जन होटेलहरू तीन वर्षदेखि बन्द छन् । कोरोनापछि चीनले हिल्सा नाका बन्द गर्दा मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटकहरू र हुम्लावासी ताक्ला कोट जान नपाउने भएको हुँदा होटेल बन्द हुँदै आएका हुन ।
हिल्लाका होटेल व्यवसायी कार्मा तुण्डुप लामाले तीन वर्ष लगातार होटेलहरू बन्द गर्नु परि रहेको बताए । २०७२ सालको भूकम्पपछि हिल्सा नाका हुँदै मानसरोवर कैलाशको दर्शन पर्यटकहरूबाट हुन थालेपछि हिल्सामा पर्यटकीय होटेल निर्माण भएका थिए । उनले होटेल निर्माण गरेको तीन वर्षसम्म राम्रै सञ्चालन भएको भए पनि २०७६ सालपछि होटेल पूर्ण रूपमा बन्द रहेको बताए । उनले दुई करोड भन्दा बढी लगानी गरेर निर्माण गरिएको होटेललाई तीन वर्ष लगातार बन्द भएपछि घाटा लागेको बताए । नाका सुचारु भएको बेला हिल्लाका होटेलहरूले चार करोड भन्दा बढी कमाई गर्ने गर्थे ।
त्यस्तै हिल्साकै अर्का होटेल व्यवसायी पेमा लामाले होटेल निर्माण गरेर सञ्चालन गर्ने समयबाटै बन्द गर्नु पर्दा डेढ करोड लगानी डुबेको बताए । उनले तीन वर्ष होटेलमा ताला लगाएर राखिएको बताउँदै कोरोनाको कारण आफू जस्तै बीस जना होटेल व्यवसायी मर्कामा परेको बताए ।
भूकम्पपछि हिल्सा नाकाबाट मानसरोवर कैलाशको दर्शन २९ हजार पर्यटकहरू आएपछि आम्दानी हुने देखिदा होटेल निर्माण गरिएको भए पनि कोरोनाको कारण हिल्सा नाका चीनले बन्द गर्दा लगानी डुबेको बताए ।
यस्तो समस्या हिल्लाका सबै होटेल व्यवसायीलाई रहेको छ । हाल हिल्लाका २१ वटा होटेलका लागि छ जना चौकीदार राखिएको छ । नाका सुचारु गर्ने प्रयास नगरिँदा हिल्लाका होटेल कहिलेसम्म बन्द गर्नु पर्ने हो त्यो भने अनिश्चित भएको छ ।