२०८३, १७ असार बुधबार

दलहरुका घोषणा पत्र झारा टार्ने कागज

दलहरुका घोषणापत्र देश विकासभन्दा झारा टार्ने कागजी खोस्टाका रुपमा रहेका छन् । देशलाई बदल्छु भन्ने दलहरुले केवल घोषणा पत्रमा आशामा पोका मात्र देखाएका छन् । कुनै गतिलो काम गर्ने गरि ल्याएका छैनन् । मुलुकले शीघ्र काँचुली फेर्ने बाचा गरेका दलहरुले घोषणा पत्र हेर्दा हावादारी लाग्ने गरेको छ । वास्तवमा कुन स्रोतबाट कसरी काँचुली फेर्ने हो भन्नेमा चाहिँ दलहरु मौन छन् । राज्यकोषलाई भार पर्ने गरी मनपरि भत्ता र विकासका घोषणा मात्रै गरेर के गर्नु ? चुनावका समयमा जनतालाई झुटा आश्वासन बाँडेर राष्ट्रिय ढुकुटी रित्याउने र देशलाई कमजोर बनाउने काम कुनै पनि दलले नगरोस् भन्ने चाहना जनताको छ ।
कम्युनिस्टको शासनकालमा अत्यधिक बढेको भ्रष्टाचार, अनियमितता र कुशासनले मुलुकले धान्नै नसक्ने गरी आर्थिक संकट निम्तिँदै छ । नेपालले श्रीलंकाको जस्तै आर्थिक संकटको बाटो लिनेमा चिन्ता बढेको छ ।
आफूलाई कम्युनिस्ट भन्ने नेता–नेतृको धनदौलत, ऐस–आराम र विलासी जीवनले कम्युनिस्ट सिद्धान्तको खिल्ली उडाएको छ । कम्युनिस्टकै बाटो कांग्रेसले पनि लिएको छ । गठबन्धन गरेर होस् कि जनतालाई विनास्रोतको गुड्डी हाँकेर होस्, उनीहरुलाई चुनाव जित्नै परेको छ । त्यसैले यीनीहरुका घोषणा पत्र हेर्दा जनताको लागि हैन् केवल जनता भुलाउनका लागि ल्याएका कागजी खोस्टा हुन भन्ने लाग्छ ।