२०८३, १७ असार बुधबार

जुम्लामा त्रिपक्षीय भिडन्त, गठबन्धनकी एक्ली उम्मेदवार कँवुरलाई शाही र योगीको चुनौती

सुर्खेत :  कर्णाली प्रदेशको जुम्ला जिल्लामा सत्तारुढ गठबन्धनबाटतर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रका गोमा कँवुर, राप्रपा प्रवत्ता ज्ञानेन्द्र शाही र एमालेका रतननाथ योगीबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । जुम्लामा कम्युनिष्ट र कांग्रेसबीच प्रतिस्पर्धा हुने गरेमा आगामी कार्तिक ४ गते हुने प्रतिाीधिसभा र प्रदेशसभाको निर्वाचनका लागि राप्रपाका शाहीको इन्ट्री भएको छ भने कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन रहेको छ । एमाले एक्लै चुनावी मैदानमा रहेको छ ।
माओवादी केन्द्रका कँवुर, राप्रपा शाही र एमालेका योगीसँगै नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्ले पनि चुनावी मैदानमा रहेका छन् । यी चारै जनामध्ये सबैभन्दा प्रतिस्पर्धा कँवुर, शाही र योगीबीच रहने जुम्लाका राजनीतिक जानकारहरु बताउँछन् ।
जुम्लामा अहिले अवस्थामा यस्तै हो भनेर ठ्याक्कै भन्न नसकिने र त्रिपक्षीय भिडन्त निकै रोचक हुने जुम्लाका सामाजिक अभियन्ता माधव चौलागाईले बताए । ‘चुनावमा उम्मेदवारको व्यत्तित्व, उसको आचरण र उनीको गतिबीधि फरक पार्छ ।’ उनले भने,‘अहिले नै हामीले भविष्यबाणी गर्नु आवश्यक हैन् । तर, पूर्वामानुमान गर्न अहिले नै नागरिकले थालेका छन् ।’
सामाजिक अभियन्ता चौलागाईको आसयमा हेर्दा जुम्लामा गठबन्धन उम्मेदवार कँवुर, राप्रपाका उम्मेदवार शाही र एमालेमा उम्मेदवार योगीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ ।
गठबन्धनबाट उम्मेदवार रहेकी कँवुर २०७० सालमा समानुपातिकबाट संबिधान सभा सदस्य तथा पशुपन्छी विकास राज्यमन्त्री भएकी थिइन् । उनी संबिधानसभा सदस्य रातो पासपोर्ट काण्डमा विवादित समेत भएकी थिइन् । मानव बेचबिखनको आरोप समेत लागेको थियो ।
कँवुरलाई जुम्लाबाट राष्ट्रिय राजनीतिमा छोटो समयमा उचाई प¥याउने महिला रुपमा नागरिकले लिने गरेका छन् । तर, त्यो उचाईमा पुगेपनि उचाई अनुसारको काम गर्न नसकेको जुम्लीबासीको आरोप रहेको छ । कँवुर त्यो आरोपलाई अस्वीरका गर्दै ‘चुलो चौका सिमित रहेका दुर्गमका महिलाको प्रतिनीधित्व गर्दै आफुले देश र समाजका लागि केही गर्न चाहन्छु ।’ उनी भन्छिन्,‘महिलाले काम गरेर देखाउँछन् भने यो समाजमा देखाउँन चाहन्छु ।’
जिल्लामा पार्टीको जनाधार कमजोर रहे पनि ‘व्यक्तिगत जनमत रहेको’ भन्दै राप्रपा प्रवक्ता शाही आफुले जित्ने दाबी गर्छन् । ‘मैले दुई पटकसम्म नागरिकको घरदैलौ कार्यक्रम गरिसकेको छु । उहाँहरुका समस्याका बिषयमा जानकारी लिएको छु ।’ उनले भने,‘मेरो जित्ने आधार पार्टीको संगठित सदस्यभन्दा जनाधार हो । यहाँका नागरिकको सदभाव पाएको छु ।’
शाही जुम्लामा जनताले विगतमा परीक्षण भएका नेता तथा राजनीतिक दलभन्दा नागरिक नयाँ अनुसार ल्याउन चाहेको बताउँछन् ।
एमालेमा उम्मेदवार रहेका रतननाथ योगी पूर्व तिला गाउँपालिका अध्यक्ष हुनुका साथै एमालेका जुम्ला जिल्ला अध्यक्ष हुन् । उनी आफ्नो संगठन बलियो भएकाले जित्ने दाबी गर्छन्ु । ‘हाम्रो जिल्लामा एमाले संगठन बलियो रहेको छ ।’ उनले भने,‘अर्को आधार भनेको एमालेको एजेण्डा हो ।’
एमालेका नेता तथा कार्यक्रता गठबन्धन दलको असन्तुष्टीलाई पनि क्याच गर्ने त्यही आधारमा चुनाव जित्ने दाउँमा रहेका छन् ।
स्थानीय निर्वाचनको अंकगणित
स्थानीय तह निर्वाचनको मतपरिणाम हेर्दा यहाँ कांग्रेस सबैभन्दा ठूलो दल, द्रोश्रोमा माओवादी र तेस्रोमा एमाले रहेका छन् । आठ स्थानीय तह रहेका जुम्लामा कांग्रेसले पाँच पालिका प्रमुख र तीन उपप्रमुख जिते छ भने माओवादीले दुई पालिका प्रमुख र चार पालिका उपप्रमुख जितेको छ । एकीकृत समाजवादीले एक उपप्रमुख जितेको छ ।
जुम्लाको चन्दननाथ नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । उनी कांग्रेस प्रवेश गरिसकेका छन् ।
स्थानीय तहको निर्वाचनको मत परिमाण हेर्दा वडा अध्यक्षमा कांग्रेसको आठ हजार ६ सय ५५, माओवादीको छ हजार चार सय ३९, एमालेको दुई हजार एक सय ५७ र एकीकृत समाजावादीको एक हजार पाँच सय ९६ मत छ । राप्रपाले पाँच सय ४० मात्र पाएको थियो ।