२०७९, ९ आश्विन आईतवार

सल्यानमा जडीबुटीबाट १८ लाखभन्दा बढी राजस्व संकलन

सल्यान : सल्यानमा एक वर्षमा जडीबुटी निकासीबाट १८ लाख रूपैयाँभन्दा बढी राजस्व संकलन भएको छ। गत आव ०७८/७९ मा १८ लाख ५५ हजार ४ सय रूपैयाँ राजस्व संकलन भएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ।

कार्यालयका अनुसार राष्ट्रिय तथा सामुदायिक वनबाट संकलन गरिएको ३ लाख ७३ हजार २ सय ६२ किलो विभिन्न १० प्रजातिका जडीबुटी जिल्ला बाहिर निकासी भएको डिभिजन वन कार्यालय सल्यानका विजय पुलामी मगरले जानकारी दिए।

निजी आबादीबाट पनि ३ लाख २१ हजार ८ सय २४ किलो जडीबुटी निकासी भएको उनको भनाइ छ। उनका अनुसार आबादीबाट जडीबुटी निकासीमा राजस्व नलाग्ने र राष्ट्रिय तथा सामुदायिक वनबाट संकलन गरिएको जडीबुटीको मात्र राजस्व संकलन हुने गर्दछ।

टिमुर, रिठा, तेजपात, दालचिनीको बोक्रा, घोडताप्रे, काउलोको बोक्रा, चुत्रोको बोक्रालगायत जडीबुटी जिल्लाबाट निकासी हुँदै आइरहेको छ।

खेर गएको पाखोबारी र कम लगानीमा पनि राम्रो आम्दानी हुने भएपछि जिल्लामा पछिल्लो समय कृषकहरु व्यावसायिक जडीबुटी खेतीमा आकर्षित हुँदै आइरहेका छन्। टिमुर, रिठा, तेजपातलगायत जडीबुटीका लागि जिल्लाको हावापानी अनुकूल भएकाले पनि कृषकहरु यसप्रति बढी आकर्षित भएको कार्यालयले जनाएको छ।

बनगाड कुपिण्डे, शारदा, बागचौर नगरपालिका, छत्रेश्वरी, कपुरकोट गाउँपालिका व्यावसायिक टिमुर उत्पादनका लागि पकेट क्षेत्रका रुपमा लिने गरिन्छ। टिमुर उत्पादन वृद्धि भएसँगै शारदा नगरपालिका-१५ मूलडाँडामा जडीबुटी प्रशोधन केन्द्र सञ्चालन हुँदै आइरहेको छ।