२०७९, २७ श्रावण शुक्रबार

देश विकास दिर्घकालीन सोँचको खाँचो

दीर्घकालीन योजना, इमानदारिता, साहस, मिहेनत र जससर्मथनविना दुनियाँमा कुनै पनि मुलुक समृद्ध बनेका छैनन् । सुवासचन्द बोस, चन्द्रशेखर पण्डित, जवाहरलाल नेहरूले सपना नदेखेको भए आजको भारत निर्माण हुन सक्ने थिएन । सन यातसेन, माओत्सेतुङ, देङस्यापिङको त्याग–तपस्था र बलिदानी नभएको भए चीनले यो समृद्धि चुम्ने थिएन । मोहमद महाथिरको नेतृत्व नपाएको भए मलेसिया अर्कै अवस्थामा रन्थनिरहेको हुन्थ्यो होला । ती राजनेताहरूमा प्रस्ट लक्ष्य, पुस्तौं पर्यन्तका निमित्त दूरदृष्टि, दीर्घकालीन योजना, साहस, लगनशीलता, इमानदारिता, प्रतिबद्धता थियो । देशप्रेम र जनसर्मथनको कुनै अभाव थिएन। समय खेर नफाली विकास निर्माणमा जुट्दा मुलुक समृद्धिको गोरेटोमा डोरिन समय लागेन । हाम्रो अर्थ–राजनीति अकर्मण्यताको सिकार भइरहेको परिप्रेक्ष्यमा ती सफलताका कथाबाट पाठ सिक्नु यस कारणले पनि जरुरी छ कि आजका समृद्ध भनिने चीनले जापानको, भारतले ब्रिटेनको, अमेरिकाले बेलायतको उपनिवेश भोग्दै गर्दा नेपाल कसैको पराधीनमा थिएन । अझ भन्नुपर्दा दक्षिण एसियामै नेपाल मात्र त्यस्तो मुलुक हो जो जन्मकालदेखि स्वतन्त्र र स्वाधीन रही आएको छ । पुर्खाले देखाएको साहस, स्वाधीनता र मिहेनतलाई उत्पादन, निर्माण र सृजनशील क्षेत्रमा उपयोग गर्न सके अकरणीय अर्थ–राजनीतिक आहालबाट मुक्त पाउन समय लाग्दैन ।