२०७९, २७ श्रावण शुक्रबार

बाग्मतीमा कांग्रेस दावी गर्दा कर्णाली वा सुदूर पश्चिमका सरकार हल्लिने नेकपा (एस) बाग्मती सरकार छाड्न तयार, कर्णाली वा सुदूर पश्चिममा दाबी

सुर्खेत : प्रदेश मुख्यमन्त्री फेर्ने प्रसंगमा असहमत देखिएका बाग्मती प्रदेश मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे एकाएक सरकारको नेतृत्व छाड्न सकारात्मक भएका छन् । माओवादी र कांग्रेसले हस्ताक्षर सङ्कलन तयारी गरेपछि दबाबमा परेका मुख्यमन्त्री पाण्डे नेतृत्व छाड्न सकारात्मक देखिएका हुन् ।
पछिल्लो समय उनले ‘केन्द्रको आदेशबिना सरकार नछोड्ने’ अडान राख्दै आएका थिए । पूर्वलिखित सहमतिअनुसार कांग्रेसले वाग्मती प्रदेशको नेतृत्वमाथि दाबी गरेपछि सरकार परिवर्तनको विषय उठेको छ ।
माओवादी र कांग्रेसले सरकारमा रहेका आफ्ना मन्त्री फिर्ता बोलाउने तयारीसमेत गरिरहेको बेला पाण्डे सरकारको नेतृत्व छाड्न तयार भएका हुन् । सरकार छाड्नैपर्ने अवस्था आएपछि उनले संसदीय दल बैठक बोलाएका छन् ।
गत ११ कात्तिकमा मुख्यमन्त्री बनेका पाण्डेको सरकारमा एकीकृत समाजवादीका चार मन्त्री छन् । पाण्डे नेतृत्वमा सरकार गठन गर्दा समाजवादी, कांग्रेस र माओवादीबीच सरकार ६–६ महिना नेतृत्व गर्ने ‘भद्र सहमति’ भएको थियो। सहमति कार्यान्वयन गर्न पाण्डे अनिच्छुक देखिएपछि कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले लगातार दबाब दिएका थिए ।
बाग्मती र प्रदेश १ मा सरकारको नेतृत्वमा रहेको एकीकृत समाजवादीले नेतृत्व छाड्नुपरे अन्य प्रदेशबाट पाउनुपर्ने दाबी गरिरहेको छ । कांग्रेसले भने वाग्मतीको लिखित सहमति कार्यान्वयनमा अन्य प्रदेश जोड्न नहुने तर्क गर्दै आएको छ ।
गत वर्ष कात्तिकमा वाग्मती प्रदेश सरकार निर्माण गर्दा प्रदेशसभाको कार्यकाल १६ महिना हिसाब गर्दै आधा समय एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे र बाँकी समय कांग्रेसका इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने लिखित सहमति गरेको थियो । एकीकृत समाजवादीले पाँच दलीय गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले २–२ प्रदेश र जनता समाजवादी पार्टी (जसपा) ले एक प्रदेशको नेतृत्व लिने सहमति भएको भन्दै वाग्मती नभए अन्य प्रदेश पाउनुपर्ने दाबी गरेको छ ।
प्रदेश सरकार परिवर्तन गर्ने हो भने गठबन्धनमा सबैतिरको समीक्षा गरेर अघि बढ्नुपर्ने पार्टीको धारणा रहेको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा बताउँछन् ।
‘गठबन्धनभित्र भएको सहमतिअनुसार २–२ वटा प्रदेशको नेतृत्व गरिरहेका छौँ । परिवर्तन गर्ने हो भने पनि २–२ वटा कुन लिने भनेर गरौँ । परिवर्तन नगर्ने हो भने अहिले जे जस्तो छ त्यसलाई नै छाडिदिऔँ ।’
एकीकृत समाजवादीले वाग्मती छाड्नुपरे कर्णाली वा सुदूर पश्चिम सरकारको नेतृत्व पाउनुपर्ने दाबी गरिरहेको छ । सुदूर पश्चिम प्रदेशसभामा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल हो ।