२०८१, ८ बैशाख शनिबार

सुक्खा बन्दरगाह निर्माणको अध्ययन सुरु

सुर्खेत : हुम्लाको नाम्खा ५ यारीमा सुक्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययनको काम सुरु भएको छ।​

चालु आर्थिक वर्षमा गर्नेगरी सरकारले उक्त कार्यक्रम तय गरेको थियो। यसका लागि केही समय अगाडि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक सूचना निकालेर परामर्शदाता कम्पनीमा एमएस कार्ड कन्सल्ट लिमिटेड छनौट गरी सम्झौता गरेको थियो।

लिमिटेडसँगको सम्झौतापछि दुुई सदस्यीय टोली हुम्ला पुगेर स्थलगत रुपमा अध्ययन सुरु गरेको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन्। ​​इन्जिनियर सन्तोष खड्काकाे टोली यारीमा पुगेर बन्दरगाह निर्माण क्षेत्रको टोपोग्राफी अध्ययन सुरु गरेको छ।

टोलीले जग्गाको बनावट, प्रकृति, खानेपानी, बिजुली, सडक सञ्जाल र सामाजिक विवरणको समेत अध्ययन गरिरहेको छ। यहाँको क्षेत्र चार हजार ४०० मिटर अग्लो भएका कारण हिउँ पन्छाउन मिल्ने अवस्थाको पनि अध्ययन गरिरहेको छ।

कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेशले यस बन्दरगाहबाट फाईदा लिने अपेक्षा लिइएको छ। स्थलगत अध्ययनपछि उक्त टोलीले प्रतिवेदन दिने र बन्दरगाहको डिपीआर तयारीको बाटो खुल्ने छ।​

यारीलाइ सुक्खा बन्दरगाह बनाउने माग धेरै अगाडिदेखि भनिए पनि राज्यले बल्ल सुनुवाई गरेको हुम्लाका प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामाले बताए। त्यस्तै उपल्लो डोल्पाको धो’मा समेत सुक्खा बन्दहगाह निर्माण गर्ने सरकारको लक्ष्य रहेको छ।

यहाँ हिमाली सहर समेत निर्माण गर्ने सरकारको लक्ष्य रहेको छ।