२०७९, २७ श्रावण शुक्रबार

कर्णालीमा मल अभाव

सुर्खेत : खेतीपातीको सिजनमा रासायनिक मल (युरिया)को अभाव देखिएको छ। किसानहरू यतिबेला धान रोपाइँको तरखरमा छन्।

अनुदानको मल बिक्री–वितरणको जिम्मा पाएको पूर्ण सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतको गोदाम भने खाली छ। सिजनमा मलले भरिभराउ हुनुपर्ने गोदाम रित्तो भएको हो।

जेठ र असारमा धान खेतीका लागि आवश्यक पर्ने रासायनिक मल विभागमा माग गरेर पठाए पनि अझै आइनपुगेको कम्पनीका प्रादेशिक कार्यालय प्रमुख अमूल्यलाल श्रेष्ठले बताए। उनका अनुसार धान रोपाइँको लागि मात्रै युरिया १५ सय मेट्रिक टन, डीएपी पाँच सय मेट्रिक टन र पोटास ५० टन माग गरिएको छ।

‘माग अनुसारको मल कहिल्यै प्राप्त हुँदैन,’ उनले भने, ‘विगतका वर्षमा सहकारीले एक सय क्वीन्टल माग गर्दा ५० क्वीन्टलसम्म उपलब्ध गराइन्थ्यो, यसपालि त्यही पनि पाइने निश्चित छैन। अहिलेसम्म गोदाम खाली छ।’

कर्णाली प्रदेशका जिल्लाहरूमा रासायनिक मल बिक्री–वितरण गर्दै आएको कम्पनीसँग यस पटकको रोपाइँ सिजन सुरु भइसक्दा पनि एक बोरा मल छैन। मलको चरम अभाव हुँदा खेतीपातीका काम निकै प्रभावित भएको किसानहरूले बताएका छन्। चालु आर्थिक वर्षको जेठ मसान्तसम्म कर्णाली प्रदेशका तीन जिल्लामा एक हजार ६० मेट्रिक टन युरिया, ६ सय ८० मेट्रिक टन डीएपी र ७५ टन पोटास खपत भएको थियो। खपत भएको आधारमा थप मल माग गरी पठाएको श्रेष्ठले बताए।

सुर्खेत, दैलेख र जाजरकोटमा कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतबाट मल निर्यात हुने गरेको छ। यसरी पठाइने मल सहकारी संस्थामार्फत किसानलाई बिक्री–वितरण गरिन्छ। कम्पनीले कर्णालीका आठ जिल्लामा दर्ता भएका एक सय आठ वटा सहकारी संस्थामार्फत मल वितरण गर्छ। सल्यान र रूकुम–पश्चिम बाहेकका जिल्लामा कम्पनीको प्रादेशिक कार्यालयबाट मल पठाइँदै आएको छ। कर्णाली प्रदेशका अधिकांश जिल्लामा रासायनिक मल बढी खपत भइरहे पनि हिमाली जिल्लामा भने मलको प्रयोग कम छ।

सरकारले तीन प्रकारको खेतीका लागि रासायनिक मल अनुदानमा उपलब्ध गराउँदै आएको छ। धान, गहुँ, मकैको लागि किसानलाई रासायनिक मल उपलब्ध गराउने गरिएको छ। तर, मल पर्याप्त नहुँदा किसानले हरेक वर्ष खेतीपातीको सिजनमा हैरानी खेप्दै आएका छन्।

अनुदानमा आउने मलमध्ये ७० प्रतिशत कृषि सामग्री र ३० प्रतिशत अर्ध सरकारी स्वामित्वको साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडबाट वितरण हुन्छ। साल्ट ट्रेडिङ्गको गोदाममा समेत यसपटक मलको मौज्दात शून्य छ।

कर्णालीलाई अर्गानिक प्रदेश भन्ने गरिए पनि यहाँ रासायनिक मलको माग धेरै छ। वर्षायाम लागेसँगै अहिले किसानहरूलाई खेतबारीको चटारो छ। खेतीपातीका बेला बर्सेनी कर्णालीमा मल अभावको समस्या दोहोरिन्छ। मुख्य सिजनमै मलमा किसानलाई धोका हुने गरेको हो।

प्रदेशभर मलको अभाव रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका योजना महाशाखा प्रमुख राजु भुजले जनाए। उनका अनुसार रासायनिक मल आयातका लागि मन्त्रालयले समेत आवश्यक समन्वय गरिरहेको छ। कृषि बालीमा प्रयोग हुने युरिया, डीएपी र पोटासजस्ता मलको उत्पादन नेपालमा हुँदैन।

मल आयातका लागि ग्लोबल टेण्डरमा जानुपर्ने हुन्छ। सरकारले समयमै मल खरिदका लागि आवश्यक प्रक्रिया अघि नबढाउँदा हरेक वर्ष उही समस्या आउने गरेको हो।

कृषि सामग्री कम्पनी, साल्ट ट्रेडिङ्ग र विगतमा मल वितरण गर्दै आएका सहकारीहरूमा किसान दैनिक धाइरहेका छन्। मल नपाउँदा उनीहरू रित्तो हात फर्कनु परेको छ।