२०८३, १६ असार मंगलवार

माओवादीले प्रधानमन्त्रीको भ्रमण रद्द गर्न माग गर्नु सामान्य विषय होइन : प्रदिप ज्ञवाली

सुर्खेत : नेकपा एमालेका उपमहासचिव तथा सांसद प्रदिप ज्ञवालीले सत्ता घटक माओवादी केन्द्रले नै प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रोक्न माग गर्नु सामान्य बिषय नभएको बताएका छन्। 

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ज्ञवालीले नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्रीको अमेरिका भ्रमण आवश्यक नभएका टिप्पणी गरेपछि त्यसको जवाफ खोजेका हुन्। 

सांसद ज्ञवालीले भने, ‘दुईदिन अघि सत्ता गठबन्धनको एक घटकका प्रमुख सचेतकले प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणको विषयलाई लिएर गम्भीर प्रश्न उठाउनुभएको छ। संसदीय व्यवस्थामा सत्ता पक्षका प्रमुख सचेतकको आवाजलाई आधिकारिक मानिन्छ। सत्तापक्षकै एउटा घटकका प्रमुख सचेतकले प्रधानमन्त्रीको भ्रमण रद्द गरियोस् भन्ने तहसम्म प्रश्न उठाउने विषय भनेको सामान्य विषय हो जस्तो लाग्दैन।’
 
उनले प्रधानमन्त्री अमेरिका भ्रमण कुन आधारमा हुँदैछ? भन्ने बिषयमा संसदमा अविलम्ब जानकारी गराउन समेत माग गरे। 

‘यो विषयलाई कसरी बुझ्ने?  सत्ता गठबन्धनको आन्तरिक विवाद वा असमझदारी मात्रै हो? या यो भ्रमणसँग जोडिएका महत्वपूर्ण विषय छन्। जसबारे सत्ता घटकबीच छलफल चलिरहेको छ। त्यस विषय उठाउनुपर्छ भन्नेमा प्रमुख सचेतक रहनुभयो। प्रधानमन्त्रीको अमेरिका भ्रमण प्रधानमन्त्रीको हैसियतमा हुँदैछ कि रक्षामन्त्रीको? रक्षामन्त्रीको हैसियतले हुँदैछ भने यसको स्ट्याचर के हो?’ उनले भने। 

प्रधानमन्त्रीको भ्रमणबारे प्रमुख प्रतिपक्ष बेखबर भएको समेत बताए।