२०८१, २१ बैशाख शुक्रबार

रुपन्देहीको रोहिणी पुलबाट यात्रुबाहक बस खस्दा नौ जनाको मृत्यु

सुर्खेत -: रुपन्देहीमा आज बिहान बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ ।
भैरहवा–परासी सडकखण्डको रोहिणी नदीको पुलबाट बस खस्दा नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र आठ पुरुष रहेका छन् । प्रहरीका अनुसार दुर्घटनामा २४ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर छ । अन्यको अवस्था सामान्य रहेको छ । जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस बिहान साढे ४ बजे ओमसतिया गाउँपालिका–४ बसन्तपुरस्थित रोहिणी खोलाको पुलबाट खसेको हो ।
बसमा ३३ जना यात्रु रहेको बताइएको छ । गम्भीर घाईते मध्ये ५ जनाको युनिभर्सल मेडिकल कलेज भैरहवामा र ४ जनाको भैरहवा भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।
घाइतेहरुको भैरहवास्थित मेडिकल कलेज, भीम अस्पताल र सिद्धार्थ सिटी अस्पतालमा उपचार भइरहेको छ । मृतकको अझै सनाखत हुन सकेको छैन । घाइतेहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले तत्काल उद्धार गरी उपचारका लागि भैरहवा लगिएको थियो ।