२०७९, ६ जेष्ठ शुक्रबार

फिजियोथेरापिस्टहरुको व्यवसायिक विकासको लागि अभिमूखीकरण

सुर्खेत । कर्णाली प्रदेशका जिल्ला अस्पतालहरुमा कार्यरत फिजियोथेरापिस्टहरुको लागि ‘पुनस्र्थापना सम्बन्धी विशिष्ट क्लिनिकल अवस्थाहरूको बारेमा फिजियोथेरापिस्टहरुको निरन्तर व्यवसायिक विकासको लागि अभिमुखीकरण’ कार्यक्रम वीरेन्द्रनगरमा सम्पन्न भएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय वीरेन्द्रनगर सुर्खेतको आयोजना र शारिरीक पुःनस्थापना कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा पुष पाँच गतेबाट सुरु भएको कार्यक्रम पाँच गते सम्पन्न भएको थियो ।

पाँच दिन सम्म चलेको उक्त कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय कालिकोट, दैलेख, मुगु, हुम्ला, जाजरकोट, डोल्पा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतमा कार्यरत १÷१ जना फिजियोथेरापिस्ट हरूको सहभागिता रहेको थियो । कार्यक्रममा पुनस्र्थापनाको प्रणाली तहमा एकीकरण, स्त्री रोग सम्बन्धी फिजियोथेरापी, आङ खस्ने समस्यालाई समाधान गर्न चाहिने फिजियोथेरापी, स्नायू सम्बन्धी— स्ट्रोक भएको अवस्थामा चाहिने फिजियोथेरापी, मांशपेसी सम्बन्धी फिजियोथेरापी, ढाड दुख्ने अवस्थामा चाहिने फिजियोथेरापी, ह्वीलचेयर सम्बन्धी ज्ञान लगायतका विषयहरूको बारेमा तथ्यमा आधारित रही विषयहरु प्रस्तुत गरिएका थिए ।

कार्यक्रमको अन्त्य मा सहभागीहरूले आफूहरूले सिकेको ज्ञान तथा सीपहरुलाई आफू काम गर्ने जिल्ला अस्पतालमासेवा प्रदान गर्नमा कार्यक्रमले थप सहज बनाउने व्यक्त गरेका थिए । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण प्रसाद काप्रीले कार्यक्रमको प्रशंसा गर्दै आगामी दिनहरूमा पुनस्र्थापना सम्बन्धी थप क्षमता विकास आयोजना गर्ने र कर्णाली प्रदेशमा पुनस्र्थापना सेवाको विस्तार लाई सुदृढिकरण गर्नको लागि सामाजिक विकास मन्त्रालय प्रतिबद्ध रहेको कुरा व्यक्त गरे । साथै यस कार्यक्रमले फिजियोथेरापिस्टहरुको क्षमता अभिवृद्धि भएको विश्वास समेत व्यक्त गरे ।

शारिरीक पुनःस्र्थापना कार्यक्रम यूएस्एआडीको आर्थिक सहयोगमा ह्यान्डिक्याप इन्टरनेशनलद्वारा सञ्चालित पाँच बर्षे परियोजना हो । यसले द्वन्द्व प्रभावित लगायत पुनस्र्थापना सेवाको आवश्यकता भएका व्यक्तिहरूको गमनशीलता र क्रियात्मक आत्मनिर्भरताका लागि दिगो, एकीकृत र सार्वजनिक–निजी साझेदारी प्रणालीमा आधारित पुनस्र्थापना सेवाको स्थापना गर्नका लागि कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थय महाशाखा प्रमुख वृषबहादुर शाहीको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो ।