२०८१, ७ बैशाख शुक्रबार

विप्लव प्रवक्ता प्रकाण्ड भन्छन, एमसिसि लागु भए देश युद्धको भूमरीमा फस्छ

सुर्खेत । नेपाल कम्यूनिष्ट पार्टी (विप्लव)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले अमेरिकी सहयोग परियोजना (एमसिसि) नेपालमा लागु भएको अवस्थामा देश युद्धको भूमरीमा फस्ने बताएका छन् । मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा जनपत्रकार संगठनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रकाण्डले राष्ट्रियता माथि इतिहाँसमै सर्वाधिक हस्तक्षेप हुने एमसिसि कुनै पनि हालतमा लागु हुन नदिने बताए । ‘एमसिसि खारेज हुनुपर्छ,’ प्रकाण्डले भने, ‘एमसिसि अमेरिकाले आफ्नो गुमाउँदै गरेको शक्ति सन्चय गर्ने योजना हो । यदि यो लागु भएको अवस्था देश युद्धको भूमरीमा फस्छ ।’

पछिल्लो सय देश थुप्रै समस्याको भूमरीमा फेसेको भन्दै प्रकाण्डले अब जनतालाई आफै फैसला गर्न पाउने अधिकार दिनु बाहेक अरु विकल्प नरहेको बताए । नेपाल कम्यूनिष्ट पार्टीले उठाउँदै आएको बैज्ञानिक समाजवादको चर्चा गर्दै प्रकाण्डले समाज, व्यवस्था नै बदल्ने गरी समस्याको समाधान खोज्नुपर्ने बताए ।

अहिलेकै अवस्था र व्यवस्था रहेको अवस्थामा आगामि चुनावको कुनै पनि औचित्य नरहेको भन्दै प्रकाण्डले यदि अब देश चुनावमा गएको अवस्थामा व्यवस्था नै बदल्ने गरी जनमत संग्रहको पक्षमा ठूलो जनशक्ति खडा हुने बताए ।

‘प्रकाण्ड’ले सरकार र आफ्नो पार्टीबीच भएको सहमति कार्यान्वयन नभए सरकार चलाउनेहरुलाई नै अप्ठ्यारो पर्ने चेतावनी समेत दिएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुसँग सम्झौता गरे पनि सो अनुसार आफ्ना कार्यकर्ता रिहा नगरेको उनले सुनाए । शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि पनि आफूहरुले सहमति पालनाका लागि कुरा राखिसकेको भन्दै उनले यदि कार्यान्वयन भएन भने सरकार आफै अप्ठ्यारोमा पर्ने बताए ।
राष्ट्रिय स्वाधिनताका लागि जनताले अमूल्य योगदान दिए पनि त्यस अनुसारको परिवर्तन हुन नसकेको उनले बताए ।

अहिलेका राजनीतिक दलहरुले आफ्नो राजनीतिक मूल्य मान्यताको पनि रक्षा गर्न नसकेको उनले प्रस्ट पारे । ‘त्यस्ता दलका नेताहरुले अहिले यो व्यवस्थाको रक्षा कसरी गर्न सक्छन् ?,’ उनले प्रश्न गरे, ‘न्यायपालिकाको माथिल्लो निकायले राज्य चलाईदिनुपर्ने अवस्था कसरी आयो ?’

देशमा पुराना सरकारले गरेका काण्डलाई नयाँ सरकारले ढाकछोप गर्ने प्रवृति बढिरहेको समेत बताए । ‘यो संसदीय व्यवस्था नै मुख्य समस्या बनेको छ । अहिले राज्य चलाईरहेकाहरु जनताप्रति उत्तरदायी हुन सकिरहेका छैनन्’ उनले भने । नेकपा माओवादी केन्द्रबाट प्रचण्डले एकताको लागि हात बढाए पनि एतिहाँसमा गरेका गम्भिर क्रुटिहरु नसच्याए सम्म एकताको कल्पना समेत गर्न नसकिने बताए ।