२०७९, २० असार सोमबार

नगर प्रहरीले गर्यो हराएको बहुमुल्य गहना हस्तान्तरण

सुर्खेत । कालिकोट खाडाचक्र नगरपालिकाका–६ घर भएकी अपसरा शाहिले वीरेन्द्रनगर स्थित बसपार्कमा आफ्नो झोला बिर्सेर घर गइन् । राती १०ः३० बजे घर पुगेकी उनले १५ मिनेट पछि आफ्नो झोला बसपार्क मै छुटेको जानकारी पाइन् । बहुमुल्य गहना भएको उक्त झोला स्थानीय डिल्ली बुढाले देखेपछि तत्काल नगर प्रहरीलाई खबर गरे ।

नगर प्रहरी कार्यालय वीरेन्द्रनगरका प्रमुख लालबहादुर सुनारको नेतृत्वमा गएको प्रहरीको टोलीले झोला र त्यसमा रहेको सुनको छडके तिलहरी १, झाला १ जोडा, रानी हार १, चुरा १ पिस र नागरिकता सहितका कागजात बरामद गरेर हस्तान्तरण गरेको छ ।

सोमबार बिहान अप्सरा शाहीलाई प्रमुख सुनारको रोहोबरमा हस्तान्तरण गरीएको नगरप्रहरी कार्यालय वीरेन्द्रनगरले जानकारी दिएको छ ।