२०८१, २० बैशाख बिहीबार

यस्तो रहयो मुख्यमन्त्री शाहीको कार्यकाल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजिनामा दिएका छन् । सोमबार साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेशबासीको नाममा सम्बोधन गर्दै शाहीले राजिनामाको घोषणा गरेका हुन् । सत्ता साँझेदार दलहरु संगको पूर्वसहमति अनुसार शाहीले सत्ता हस्तान्तरण गरेको बताए ।

मुख्यमन्त्री शाहीको राजिनामा संगै नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने बाटो खुलेको छ । गएको बैशाख २ गते नेपाली कांग्रेस, माओवादी केन्द्र र तत्कालिन एमालेको माधव नेपाल समूह (हाल एकिकृत समाजवादी) बिच भएको ११ बुँदे सहमति अनुसार अब कांग्रेस संसदिय दलका नेता जीवनबहादुर शाहीको सरकारको नेतृत्व गर्नेछन् ।

सहमतिको एक बुँदामा कांग्रेसले ६ महिना पछि सरकारको नेतृत्व हस्तान्तरण गर्ने उल्लेख गरिएको थियो । संघीयता कार्यान्वयनमा थुप्रै चुनौतीका बिच आफ्नो कार्यकालमा विकास निर्माण तथा कानून निर्माणमा कर्णालीको जग हाल्ने काम गरेको उनले बताए । आफुले इमान्दारिताको राजनीति गर्नै भन्दै शाहीले नेपाल कांग्रेसलाई सरकार निर्माणमा पूर्ण रुपमा सहयोग रहने बताए ।

मुख्यमन्त्री संगै कर्णाली प्रदेशका गैर सांसद तिन जना मन्त्री कुर्मराज शाही, नन्दसिंह बुढा र अम्मरबहादुर थापाको पद पनि समाप्त भएको छ । संविधान अनुसार सांसद पद गए पछि ६ महिना सम्म मात्र मन्त्री पदमा रहने व्यवस्था अनुसार उनीहरुको पद समाप्त भएको छ । यस अघि गएको बैशाख ३ गते एमालेको माधव नेपाल समूहका चार जना सांसदले एमालेको फ्रोरक्रस गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका थिए । जसबाट तिन जना मन्त्री भएका थिए । ३५ सदस्यीय कर्णाली प्रदेश सभामा सभामुखसहित एमालेका १३ जना सांसद छन् । यस्तै, नेकपा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६, समाजवादीका तीन जना र राप्रपाका एक जना सांसद छन् ।

यस्तो रह्यो मुख्यमन्त्री शाहीको कार्यकाल

संघियताको खाका सहित नेपालको संविधान २०७२ जारी भए पछि गठित कर्णाली प्रदेश सरकारको पहिलो मुख्यमन्त्री हुन महेन्द्रबहादुर शाही । तत्कालिन समयमा नेकपा एमाले र माओवादी केन्द्रले गरेको चुनावी तालमेल ‘वाम गठबन्धन’ पछि कम्यूनिष्ट पार्टीले जितेका ६ प्रदेश मध्ये चार प्रदेशमा नेकपा एमाले र दुई प्रदेश कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा माओवादी नेतृत्वले सरकार चलाउने अवसर पाएको थियो ।

माओवादीबाट निर्वाचित महेन्द्रबहादुर शाही २०७४ साल फागुन ३ गते कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्रीको रुपमा सपथ लिएका थिए । जनयुद्धको पुष्टभूमिबाट राजनीतिमा आएका मुख्यमन्त्री शाहीको तिन बर्ष झण्डै आठ महिनाको कार्यकाल कोरोना माहामारी, विभिन्न राजनीतिक उचार चढापमा बित्यो ।

मुख्यमन्त्री शाही कहिल्यै राजनीतिक कारण त कहिल्यै लोकप्रिय कार्यक्रमको सुरुवात गरेका कारण चर्चामा आए । शाहीको कार्यकालमा मुख्यमन्त्री रोजगार, एकिकृत बस्ती विकास योजना, पर्यटकीय एकिकृत गुरुयोजना जस्ता थुप्रै कार्यक्रमको विकास भएको छ । सबै भन्दा पहिले प्रदेशको नाम र राजधानीको टुङ्गो लगाएको कर्णालीको पहिलो मन्त्रिपरिषद्को बैठकले कर्णालीलाई अर्गानिक प्रदेशको रुपमा विकास गर्ने, डिजिटल प्रदेशको रुपमा अघि बढाउने जस्ता कार्यक्रमले चर्चामा पाएका थिए ।

आवश्यक पर्ने कर्मचारी, भौतिक संरचना, कानून निर्माणको कारण बजेट खर्च गर्न नसकेको कर्णाली प्रदेश सरकारले सुरुका बर्षहरुमा चरम आलोचना खेपेको थियो । पछिल्ला आर्थिक बर्षहरुमा बजेट खर्च बढ्दै गएको पाइयो । यसरी हेर्दा शाहीले आफ्नो कार्यकालमा कर्णालीमा कानून निर्माण, कर्मचारीको व्यवस्थापन, पूर्वाधार निर्माणमा जग बसालेको मान्न सकिन्छ ।

शाही कार्यकालमा तत्कालिन समयमा नेकपा एमाले र माओवादी केन्द्र बिच एकता भई बनेको नेकपा भित्रैबाट सत्ता हत्याउने खेल भयो । एमाले नेता यामलाल कंडेल समूहले थुप्रै पटक सत्ताको लागि पर्यास गरे तर ती सबै पर्यासहरुलाई बिफल पार्दै शाहीले सत्ता सम्हाले । तत्कालिन समयमा नेकपा विभाजन हुँदा तत्कालिन एमालेको माधव नेपाल समूहले साथ दिँदा मुख्यमन्त्रीलाई राहत भएको थियो ।

गएको बैशाख ३ गते शाहीले संसदमा विश्वासको मत माग्दा तत्कालिन एमालेको माधव नेपाल समूह (हाल एकिकृत समाजवादी) र नेपाली कांग्रेसले कांग्रेसको समर्थनमा शाहीको नेतृत्वले निरन्तरता पाएको थियो । साही समयमा नेपाली कांग्रेस, एकिकृत समाजवादी र माओवादी केन्द्र बिच ११ बुँदे सहमति भएको थियो । जसमा ६ महिना पछि मुख्यमन्त्री शाहीले पदबाट राजिनामा दिने सहमति भएको थियो । सोहि अनुसार मुख्यमन्त्री शाहीले पदबाट राजिनामा दिएका छन् ।

शाहीकै कार्यकालमा विश्वभर नै फैलिएको कोरोना भाइरस (कोभिड–१९)को माहामारीले कर्णालीलाई थला पार्यो । जनशत्तिलाई श्रम संग जोडेर विकास निर्माणलाई तिव्रता दिने धारणा राख्दै आएका शाहीले कोरोनाका कारण थुप्रै कामहरु गर्न नसकेको समेत बताएका छन् । कोरोनाका पहिलो भन्दा दोस्रो लहरमा धेरै प्रभावित भएको कर्णालीमा हाल विभिन्न खोप केन्द्रबाट कोरोनाविरुद्धको खोप लगाउने काम भइरहेको छ । कोरोना माहामारीकै कारण कर्णालीका दुर्गम क्षेत्रहरुमा थूर्पै स्वास्थ्य पूर्वाधारको विकास भएको छ । विटकमा पनि अत्याधुनिक प्रविधिको विकास हुँदै गएको छ ।