फागुनमा हराएका रानाको भरुवा बन्दुकसहित कंकाल फेला, दुइ जना नियन्त्रणमा
सुर्खेत ।
बराहताल गाउँपालिका वडा नं. एक सम्सेलीका एक तीस वर्षीया युवाको भरुवा बन्दुक सहित मानव कंकाल सुर्खेत प्रहरीले फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा खटि गएको प्रहरीको टोलीले बर्दिया राष्ट्रिय निकुञ्ज भित्र ठाकुरद्धार एकको जंगलमा शिवराम रानाको कंकाल फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतमा आइतबार पत्रकार सम्मेलन गर्दै उनले मानव कंकाल सहित हसिया, भरुवा बन्दुक एक थान, छर्रा, उनका कपडा फेला पारी सार्वजनिक गरेका हुन । ‘उहाँ २०७६ साल फागुन १० गते हराउनु भएको भन्दै उनकी श्रीमती मनमाया रानाले खोजी गरिपाउँ भनेर प्रहरीमा निवेदन दिएकी थिईन ।’ उनले भने, ‘सोही निवेदनको आधारमा हामीले खोजी गरेका थियौं तर फेला पार्न सकेनों । मृतक रानासँगै अन्य दुइ जना पनि हराएका हुँदा हामीलाई खोज्न समस्या भएको थियो । मृतक रानासँगै सोही गाउँका यामबहादुर सम्सेली र सुर्यबहादुर वली गएको खबर थियो । उनीहरु भारततर्फ गएका रहेछन् । लकडाउन अलि खुला भएपछि उनीहरु भारतबाट गाउँमा आए । मृतक राना की श्रीमतीले असार १६ गते दुवै जनाले श्रीमानलाई वेपत्ता पारेको आरोपसहितको किटानी जाहेरी दिईन । सोही जाहेरीका आधारमा खोजी गर्न बर्दिया गएका थियौं । त्यहाँ उनको कंकालसहित सामानहरु भेटायौं । मृतक रानाका बुवा र श्रीमतीले उनको सनाखत गरिसकेका छन् ।’ उनका अनुसार अहिले मनमायाले दुवै जना विरुद्ध हत्या कर्तव्य गरि मारेको जाहेरी दिएकी छिन भने प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
‘दुवै जनाले निकुञ्जमा आफूहरु बन्यजन्तु लखेटने र उनले बन्दुक लिएर बस्ने र जनावर मार्ने तयारकिा साथ गएका थियौं ।’ पक्राउ परेका दुवै जनाको भनाई उद्धृत गर्दै उनी भन्छन्, ‘मृतक बसिरहेको स्थानमा बाघले आक्रमण ग¥यो । हामी त्यहाँबाट रुखमा चढेर ज्यान जोगाई भाग्यौं ।’
प्रहरीका अनुसार मृतक रानाको शरिरको केहि भाग मात्रै प्रहरीले फेला पारेको छ । भिरालो स्थानमा उनको कंकाल भेटिएको प्रहरीको भनाई छ । हत्या गरिएको हो वा वाघले खाएर मरेको हो भन्ने अनुसन्धानमा खुल्ने प्रहरीले जनायो ।