२०८१, २६ फाल्गुन सोमबार

दैलेखमा ९० प्रतिशत रोपाइँ सकियो

facebook sharing button

Image Not Found

दैलेख । दैलेखमा हालसम्म ९० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यो वर्ष समयमै मनसुन शुरू भएका कारण किसानहरूले बेलैमा धान रोपाइँ सम्पन्न गरेका हुन् । जिल्लाका अधिकांश धाने जिउलाहरूमा धान रोपाइँ सम्पन्न भइसकेको छ । अब मैजारो रोपाइँ गर्न मात्र बाँकी रहेको किसानहरूले बताएका छन् । कृषि विकास कार्यालय दैलेखका अनुसार खोला किनारका धाने जीउलाहरूमा धान रोपाइँ सम्पन्न भइसकेको छ भने केही आकाशे पानीको भर पर्नु पर्ने भिराला जमीनका साथै मैजारो रोपाइँ हुन बाँकी छ ।

‘ग्रामीण भू–भागहरूमा विगतका समयमा पानी नपर्दा निकै समस्या हुने गरेको थियो । तर, यो वर्ष हामीले समयमा नै धान रोप्न सफल भयौं’, भैरवी गाउँपालिकाका किसान अमित सापकोटाले भने, ‘गत वर्ष त यो समयमा हामीले थोरै मात्र रोपाइँ गरेका थियौं ।’ उनका अनुसार कतिपय किसानले त मैजारो रोपाइँ सकेर पनि आराम गर्न थालिसकेका छन् ।

धान उत्पादनको निकै महत्त्वपूर्ण स्थान मानिएको पश्चिम दैलेखको मटेला जीउलामा पनि यो वर्ष समयमा नै रोपाइँ सम्पन्न भएको छ । यस्तै जिउनी, सुवाखेत, राकम कर्णाली, नौमुले, चुप्रालगायत धाने जीउलामा पनि धान रोपाइँ भइसकेका छन् ।

‘सिँचाइ सुविधा भएको, कुलो तथा नाउला लाग्ने ठाउँमा धान रोपिसक्यौं । तर, स्थानीय सरकारले जथाभावी डोजर चलाएर कुलोहरू पुरीदिँदा केही खेतमा धान रोप्न पाएका छैनौं’, ठाटीकाँध गाउँपालिका–१ का दिपक बुढाले भने, ‘८ जना भन्दा धेरैको मैजारो रोपाइँ हुने खेतमा रोपाइँ गर्न पाइएको छैन ।’

धान रोपाइँ गर्न बाँकी रहेकामध्ये अधिकांश क्षेत्रफल सडक खन्दाको क्रममा सडकले सिँचाइ कुलोमा क्षति पु¥याएको, जथाभावी डोजर चलाउँदा जमीनमा दरार आएको र पानीका मुहान सुकेका छन् ।

जिल्लाको अधिकांश खेतीयोग्य जमीन आकाशे पानीको भरका भएका कारण किसानले आकाशे पानी छोप्दै धान रोपाइँ गरेका हुन् । कुल खेतीयोग्य जमीनमध्ये ३३ हजार ४८३ हेक्टर क्षेत्रफल खेतीयोग्य जमीन आकाशे पानीको भरमा छ भने ९ हजार ६३८ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ ।

गत वर्ष पानी नपर्दा असार २५ सम्म कुल ३५ प्रतिशत मात्र धान रोपाइँ भएका थियो । यो वर्ष जेठको अन्तिम सातादेखि नै रोपाइँको चटारो बढेकाले समयमा नै धान रोपाइँ सम्पन्न हुन लागेको कृषि विकास कार्यालय दैलेखले बताएको छ ।

कार्यालयका प्रमुख तिलक पाण्डेले हालसम्म ९० प्रतिशत भन्दा केही बढी सम्पन्न भइसकेको र अबको केही दिनमै सबै खेतीयोग्य जमीनमा धान रोपि सक्ने बताए । दैलेखमा कुल ४३ हजार १२१ हेक्टर क्षेत्रफल खेतीयोग्य जमीनमध्ये ३४ हजार ४९७ हेक्टरमा खेती गरिँदै आएको छ । त्यसमध्ये ६ हजार ५१७ हेक्टर क्षेत्रफलमा मात्र धान खेती हुने गरेको छ ।