२०८१, १ कार्तिक बिहीबार

मुक्त हलियाका लागि सीपमुलक तालिम

सुर्खेत ।
मुलुकको आर्थिक बिकास र गरिबी निवारणका लागिदक्ष जनशक्ति जरुरी भएको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । मुक्त हलियाहरुका लागि आयोजित सीपबिकास तालिम उद्घाटनका सहभागीहरुले दक्ष जनशक्तिले मात्र आफ्नो आयआर्जन बढाउन र राष्ट्रको आर्थिक बिकासमा टेवा पु¥याउनसक्ने भएकोले श्रमबजारमा दक्ष जनशक्ति उत्पादन गर्न सीपमुलक तालिम जरुरी भएको बताएका छन् ।

अन्तराष्ट्रिय श्रम संगठनको आर्थिक सहयोगमा, राष्ट्रिय मुक्त हलिया समाज महासंघ र सुर्खेत जिल्ला मुक्त हलिया समाजको साझेदारी तथा न्युनतम् सुविधाविहीन बालबालिकाहरुका लागि शैक्षिक कार्यक्रम (युसेप नेपाल)लेको आयोजनामा वीरेन्द्रनगरमा सुरु गरिएको विभिन्न सीपमुलक तालिमका सहभागीहरुले यस्तो बताएका हुन् । तालिम उद्घाटन गर्दै जिल्ला हलिया मुक्त समाज सुर्खेतका अध्यक्ष यामराज मल्लले आर्थिक रुपमा विपन्न मुक्त हलियाहरुको जिविकोपार्जन र आर्थिक बिकासका लागि तालिम आयोजना गरिएको बताए ।

सरकारले हलिया मुक्त गरे पनि उनीहरुले आर्थिक बिकासका क्रियाकलाप गर्न सीपमुलक तालिम आवश्यक भएको उनले बताए । ब्रिज परियोजनाका कार्यक्रम संयोजक पदम जोशीले सीप सिकेर दक्षता हाँसिल गरेको जनशक्ति बजारमा आवश्यक भएकोले बजारको आवश्यकता अनुसार तालिम आयोजना गरिएको बताए ।

अन्तराष्ट्रिय श्रम संगठनको आर्थिक सहयोगमा अटोरिक्सा मर्मत, हाउस पेन्टिङ्ग, टायल मार्वल फिटिङ्ग र बेमौसमी तरकारी खेती गरी विभिन्न पाँच वटा तालिममा एक सय दुई जना मुक्त हलियाहरुको सहभागि छन् । सिटिइभिटीद्धारा सीप परिक्षण गराईने उक्त तालिमको अवधी तीन सय ९० घण्टाको रहने उनले बताए । तालिम उद्घाटनमा युसेप नेपालका सुर्खेत जिल्ला संयोजक खगेन्द्र भट्टराईले तालिमको उद्देश्यमाथि प्रकाश पार्दै बजारको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादनका लागी तालिम उपयोगी हुने बताए ।