२०८१, ७ बैशाख शुक्रबार

राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा नेकपाको जित पक्का !

सुर्खेत । माघ ९ गते कर्णाली प्रदेशमा पनि राष्ट्रिय सभाबाट प्रतिनिधित्व गर्ने दुई सदस्य पदको निर्वाचन हुँदैछ । एक खुला र एक महिला सदस्यको लागि चार जनाको उम्मेदवारी परेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट खुलामा मायाप्रसाद शर्मा र महिलामा सुमित्रा बिसी तथा नेपाली कांग्रेसबाट खुलामा डिल्लीराम पाठक तथा महिलामा गणेशकुमारी बस्नेत चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिनिधिसभा निर्वाचनमा जस्तो राष्ट्रियसभा निर्वाचनमा जनताले प्रत्यक्ष मतदान गर्न पाउँदैनन् । राष्ट्रिय सभा निर्वाचन ऐन–२०७५ मा निर्वाचनको लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई मतदाता तोकिएको छ । यिनीहरुलाई निर्वाचक मण्डल भनिन्छ । प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख÷उपप्रमुखको मतभार भने समान हुँदैन । उक्त ऐनमा २०६८ सालको राष्ट्रिय जनगणनाको आधारमा प्रदेशसभा सदस्यको मतभार प्रतिभोट ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार प्रतिभोट १८ कायम गरिएको छ ।

अब कर्णालीको चुनावी अंकगणितलाई विश्लेषण गरौं ।

कर्णालीमा प्रदेशसभाका ४० जना सदस्य रहेका छन् । यो भनेको १ हजार ९२० मतभार हो । त्यस्तै स्थानीय तहका १ सय ५८ प्रमुख/उपप्रमुख छन्, जसको मतभार २ हजार ८४४ हुन आउँछ । यस हिसाबले कर्णाली प्रदेशका कूल १ सय ९८ मतदाताको मतभार ४ हजार ७६४ रहेको छ ।

कसको पल्लामा कति मतभार छ त ? फेरि हिसाब गरौं ।

नेकपाको तर्पmबाट प्रदेशसभामा ३३ र स्थानीय तहमा १ सय १६ मतदाता रहेका छन् । यसरी हेर्दा उसँग प्रदेशसभाको १ हजार ५८४ र स्थानीय तहको २ हजार ८८ गरी कूल ३ हजार ६७२ मतभार रहेको छ । कांग्रेसको तर्पmबाट भने प्रदेशसभामा ६ र स्थानीय तहमा ४१ मतदाता रहेका छन् । यस हिसाबले उसँग प्रदेशसभाको २ सय ८८ र स्थानीय तहको ७३८ गरी कूल १ हजार २६ मतभार रहेको छ । अर्थात, नेकपा र कांग्रेसबीच २ हजार ६४६ मतभारको अन्तर रहेको छ । यसबाहेक कर्णाली प्रदेशमा राप्रपाको प्रदेशसभामा एक (४८ मतभार) र स्थानीय तहमा एक (१८ मतभार) रहेको छ ।

यस्तो अवस्थामा परिणाम के होला ?

सबैको मुखबाट आउने जवाफ हो– नेकपाको जित निश्चित छ । यो आँकलन यथार्थ नजिक किन पनि छ भने यो निर्वाचनका मतदाता सामान्य मतदाता वा पार्टीका क्याडरमात्र नभई सम्बन्धित राजनीतिक दलका जिल्लादेखि केन्द्रसम्मका नेता हुन् । यिनीहरुले आप्mनो मत बिपक्षी उम्मेदवारलाई दिने संभावना निकै न्यून हुन्छ । त्यसैले कांग्रेस हारको लागि मानसिक रुपमा तयार देखिन्छ भने नेकपा विजयोत्सव मनाउने हतारोमा । तर, यी दुबै परिस्थितिको निक्र्योल माघ ९ ले गर्नेछ । कर्णाली टाइम्स