२०८३, १७ असार बुधबार

सिद्वार्थको कारोबारमा तीस प्रतिशत भन्दा बढी वृद्वि

सुर्खेत ।
सिद्धार्थ बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७४÷०७५को भन्दा आर्थिक वर्ष २०७५÷०७६ मा आर्थिक कारोबार ३२.५४ प्रतिशतले वृद्धि भएको जनाएको छ । संस्थाको शनिबार सम्पन्न भएको १८ औं साधारण सभामा अध्यक्ष आसुराम सोमै मगरले यस्तो जानकारी दिएका हुन । ‘ आर्थिक वर्ष २०७४÷०७५मा एक अर्ब ५६ करोड तीन लाख ६ हजार ७७३ रुपैंयाको कुल कारोवार गरेका थियौं ।’ अध्यक्ष मगरले भने, ‘ आर्थिक वर्ष २०७५÷०७६ मा २ अर्ब ६ करोड ८० लाख ५० हजार ९७९ रुपैंयाको कारोबार भएको थियो । यो ३२.५४ प्रतिशतले कुल कारोबारमा भएको वृद्धि हो ।’ संस्थामा ३ हजार ५८४ जना आवद्ध भएका छन भने ती मध्ये २३२३ जना महिला तथा १२६१ जना पुरुष सदस्य रहेका छन् । संस्थाको कार्यक्षेत्र वीरेन्द्रनगर, लेकबेसी नपा, गुर्भाकोट नपा, भेरीगंगा नपा र बराहताल गाउँपालिका हो । यी सबै तहमा समुहहरु गठन गरिएको अध्यक्ष मगरको भनाई छ ।
साधारणसभाको उदघाटन गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक एवम कर्णाली प्रदेश संयोजक हरिहरनाथ योगीले उत्पादनका क्षेत्रमा लगानी बढाउन सहकारी संस्थालाई आग्रह गरे । ‘अहिले देशमा उत्पादनका क्षेत्रमा लगानी बढाउन जरुरी देखिएको छ । कृषि तथा लघु उद्यममा लगानी गरेर कर्णाली आत्मनिर्भर बनाउन र शेयर सदस्यलाई बलियो बनाउन संस्थाले लगानी गर्नुपर्ने अवस्था आएको छ ।’ उनले भने, ‘यसकालागि हामीले के सहयोग गर्नुपर्छ तयार छौं । तपाईहरु उत्पादनका क्षेत्रमा बढि भन्दा बढि लगानी गर्नुहोस ।’ सहकारी क्षेत्रबाट मात्रै मुलुकको कायापलट गर्न सकिने बताउँदै सञ्चालक योगीले शेयर सदस्यको धारणा अनुसार इमान्दारीताका साथ अघि बढन सुझाव दिए । ‘३५ सय शेयर सदस्यको धारणा अनुसार अघि बढनुस ।’ उनले भने, ‘त्यस्तो गर्न सके संस्था बलियो हुन्छ र आर्थिक क्रान्ती गर्न सहयोग पुग्छ ।’